1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको थालनी

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्रायसहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकोमा आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अब बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क मेसिनमार्फत् जम्मा गर्न सकिने सेवाको शुभारभ्भ गरेको छ । यस नयाँ सेवा मार्फत ग्राहकहरुले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्नुहुनेछ ।

यस सेवाको शुभारभ्भ पश्चात् ग्राहकहरुले भौतिकरुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । ग्राहकहरुलाई सहज बैंकिङ्ग प्रदान गर्नुपर्छ भन्ने अभिप्रायले बैंकले ल्याएको यस सुविधामा ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आउनुभएकाहरुको सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरु राखेपश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्नसक्नुहुनेछ । उक्त चेक जम्मा भएपश्चात् ग्राहकहरुले चेक जम्मा भएको प्रमाणीकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्नुहुनेछ ।

बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको छ । कियोस्क मेसिनमार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिकरुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरुलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु