२० फिटको बाटो देखाएर प्लटिङको जग्गा बेचेपछि सडक नै बिक्रीको प्रपञ्च
स्थानीयले गरे नगरपालिकामा रिपोर्ट, सर्जमिन नै नगरी वडाले दियो सिफारिश
भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. २ स्थित शिक्षा विभागको उत्तरतर्फ रहेको सिंगो बस्तीभित्र आवतजावत गर्ने बाटोलाई निश्चित स्वार्थ समूहका व्यक्तिको लालचका कारण बाटो निकास बन्द गरी मोटो रकम लिएर बिक्री गर्न खोज्दा सिंगो समाज नै तरंगित बनेको छ ।
धनकुटा मुर्तिढुंगा घर भएका विष्णुकुमार मादेनसमेतका व्यक्तिले आधुनिक घडेरी विकसित गरी झण्डै दर्जनौं व्यक्तिलाई जग्गा बेचविखन गरी बाटोलाई विष्णुकुमार मादेन, शम्भुबहादुर थापा, जानकी खड्का, पार्वती केसी, विरेन्द्र भण्डारी समेतको नाममा राखेको बाटोबाटै सवारीहरु आवतजावत हुँदै आएका छन् । सो ठाउँमा मात्रै होइन, अन्य विभिन्न ठाउँमा समेत घडेरी विकसित गर्दा नेपाल सरकारको नाममा बाटो नराखी व्यक्तिकै नाममा राखेर घडेरी बिक्री वितरण गरिसकेपछि बाटोलाई नेपाल सरकारको नाममा गर्ने प्रचलन रहिआएको छ । त्यसैअनुरुप बाटो कायम हुन्छ भन्ने अपेक्षा स्थानीयहरुले गरेका थिए ।
भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. १७ कायम भै नापी भएता पनि राज्य संरचना परिवर्तनपश्चात कायम रहेको वडा नं. २ सिट नं. १०२-११८९-०२ को कित्ता नं. १३ को कित्तालाई बाटो बनाई प्लानिङ गरेको विष्णुकुमार मादेनले सबै विकसित घडेरी बेचविखन गरिसकेपछि त्यो बाटोलाई नेपाल सरकारको नाममा गरिदिनुपर्नेमा ३५-४० सालभन्दा पहिलेदेखि नै चलनचल्तीमा रहेको बाटोतर्फ गिद्दे नजर पर्दा उक्त बाटोमाथि ठूलो चलखेल गरी बेचविखन गर्ने आशंकामा सिंगो टोलवासी समेत आतंकित भएका हुन् ।
बाटो स्तरोन्नतिको क्रममा हाल बाटो विस्तार गर्न लाग्दा विष्णुकुमार मादेन, शम्भुबहादुर थापालगायतका व्यक्तिहरुले बाटोमा अवरोध सृजना गर्न खोज्दा विवादले उच्च रुप लिएको हो । निर्विवाद आजसम्म उपभोग भई आएको बाटो स्थानीय व्यक्ति रामबहादुर कुँवर, गोविन्द भट्ट मिली बमबहादुर सिंह, ज्ञानबहादुर कोजु, रामबहादुर कुँवर र वमबहादुर सिंह समेतलाई माथि उल्लेखित जग्गा बाटो आवतजावतका लागि भनी झण्डै ५० वर्ष अघिदेखि पवित्र मनले बाटोलाई धर्म हुन्छ भनी निकासका लागि जग्गा छाड्नु भएको थियो । नगरपालिकाबाट वरपरका घरहरुको नक्सा पास गर्दासमेत सो बाटोलाई २० फिटे रहेको भनेर नगरपालिकाले सिफारिश समेत गरेको छ । त्यसैअनुरुप घरहरुको नक्सा पाससमेत भई सोही बाटोलाई आधार मानी धितो बन्धक किनबेच समेत भएको छ ।
झण्डै ५० वर्षअघिदेखि चलनचल्तीको बाटो रही आएको निकासलाई अवरुद्ध गरी बाटोमा आज भन्दा केही वर्ष अगाडि घर बनाउन लागेका गिरोहका विरुद्धमा परेको निवेदनउपर मध्यपुर थिमी नगरपालिकाले फिल्ड निरीक्षण गरी २०७७ माघ ११ गते नक्सा पास रोक्नेसम्मको निर्णय गरेको थियो । हाल उक्त बाटोको विवादलाई लिएर स्थानीय बाटोका उपभोक्ताहरुले मध्यपुर थिमी नगरपालिकाको न्यायिक समितिसमक्ष दिएको निवेदन विचाराधिन अवस्थामा रहेको छ । उक्त बाटो अन्यत्र बिक्री वितरण भई चलखेल नहोस्, माफियाको दलदलमा समाज नपरोस् भनी न्यायिक समितिले २०८२ असार १६ गते बाटोको जग्गा रोक्का गर्न भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरलाई पत्राचार समेत गरेको छ ।
अन्य व्यक्तिको बाटो निकास बन्द गर्न नहुने कानूनी व्यवस्था रहेको र व्यक्तिका नाममा रहेको जग्गा भए पनि चली आएको बाटो उपयोग गर्न बाधा व्यवधान खडा गरेमा त्यससम्बन्धी उजुरी लिने, हेर्ने, निरुपण गर्नेसम्मको अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) (ठ) ले नगरपालिकाको न्यायिक समितिलाई रहेको छ ।
यसरी व्यक्तिको नाममा रहेको सार्वजनिक उपयोगको सम्पत्तिहरु निजी स्वार्थको लागि उपयोग गर्नबाट न्यायालयले वञ्चित गरेको स्थापित विवेचनाहरु समेत छन् । छायाँ कम्प्लेक्सको जग्गा भक्तपुरको प्रयागपोखरी जस्ता सम्पत्ति अदालतको आदेशद्वारा निजी नाममा रहे पनि राज्यकोषमा तथा गुठीमा फर्काइएका ताजा उदाहरणहरु हामीबीच ज्वलन्त रहेका छन्, पीडितले भने ।
उक्त जग्गामा हुन लागेको चलखेल र बाटो कायम हुने गरी पाँच जनाको नाममा राखेको करिव २० फिट चौडाई र ७० फिट लम्बाईको उक्त बाटो प्रयोजनका लागि विगत लामो समयदेखि चलनचल्तीमा रहेको, बिजुलीका पोल र टेलिफोनको तारहरुसमेत तानिएको उक्त जग्गाको सत्यतथ्य खोजी गरी छानविन गरी प्लानिङको भनी खरिद गरी बसोबास गरेका घर परिवारको हिंडडुल र आवतजावत अवरोध सृजना नहुने व्यवस्थाका लागि सम्वन्धित निकायसँग स्थानीयले हारगुहार गरेका छन् । उक्त बाटो अवरोध भएमा दैवी विपत्तिको समयमा दमकललगायत ठूला सवारी साधन प्रवेश हुन नपाई धनजनको क्षतिसमेत हुने जोखिम बढेको स्थानीयको भनाई छ ।
स्थानीय भन्छन्- स्थलगत सर्जमिन नै नगरी वडाले दियो सिफारिश
स्थानीयहरुले करिब पाँच दशकदेखि उपयोग गर्दै आएको बाटोलाई व्यक्तिले हालसाविक गर्न निवेदन दिनासाथ मध्यपुर थिमी नगरपालिका वडा नं. २ ले सर्जमिन नै नगरी हालसाविकका लागि सिफारिश गरेको भन्दै आक्रोश पोखेका छन् । स्थलगत निरीक्षण गरी सर्जमिनसमेत गरेर वास्तविकता के हो भन्ने कुराको जानकारी लिएरमात्र सिफारिश दिनुपर्नेमा स्थानीयलाई थाहै नदिई सुटुक्क सिफारिश दिइएकोप्रति स्थानीयबासी आक्रोशित भएका हुन् ।
जग्गाको भाउ बढेपछि लालच बढ्यो
स्थानीय इन्द्रकला कुँवर भन्छिन्- मैले थाहा पाउँदादेखि नै यो बाटो नै थियो । हाम्रो घरको गेट यही बाटोतर्फ निर्माण गरिएको छ । पहिले यहाँ सबैले बाटो प्रयोग गर्दथे । त्यतिखेर मूल्य निकै कम थियो । जब यो क्षेत्रमा जग्गाको मूल्य बढ्दै गयो, त्यसपछि उनीहरुलाई लोभ पलायो । हाम्रा सबै अग्रजहरुले सडकका लागि भनेर छाडेको जग्गामा माफियातन्त्र चलिरहेको छ । यसलाई हामी कुनै पनि हालतमा बन्द गर्न दिंदैनौं । हामी जुनसुकै मूल्य चुकाउनुपरे पनि पछि पर्ने छैनौं ।
प्लटिङको जग्गा बेचबिखनका क्रममा त्यही बाटोलाई देखाउँदै अहिले पाँच जनाको नाममा राखिएको छ, पछि हामी यसलाई नेपाल सरकारकै नाममा गरिदिन्छौं, त्यही प्रयोजनका लागि मात्रै प्रयोग हुन्छ भन्दै आफूलाई विश्वास दिलाएकाले आफूले जग्गा खरिद गरेको भागवत कोइरालाले बताए । उनले भने- हामीमाथि ठूलो धोका भयो, बाटो तुरुन्तै नेपाल सरकारको नाममा कायम गरिनुपर्छ ।
स्थानीय रजनेश सिंहले भने- म यहीं जन्मेर हुर्केको हुँ । यो बाटो हाम्रो बुबाहरुको पालादेखि नै कायम भएर आएको हो । बाटो बनाउन हाम्रो बुबाहरुले पनि योगदान गर्नुभएको छ । उतापटि रामबहादुर कुँवर काकाले पनि योगदान गर्नुभएको छ । हामी सबैले आ-आफ्नो तर्फबाट जग्गा छाडेर बाटो ठूलो पारेर चलनचल्ती भइरहेको हो । तर अहिले भित्रको जग्गा जोसँग छ, उहाँहरुले प्लटिङ गर्नुभयो, बेचबिखन गरेर भ्याउन लाग्नुभयो । अब यो बाटोका लागि भनेर परापूर्वककालदेखि नै राखिएको जग्गालाई बाटो होइन भनेर लागिरहनुभएको छ । पहिले बाटो देखाएर थुप्रै घरघडेरी बेच्नुभयो, अहिले यो चलनचल्तीको सडकलाई समेत बेच्ने प्रपञ्च गरिराख्नुभएको छ । त्यो सम्भव छैन । सबैजना टोलबासीहरु मिलेर खोलेको बाटो हो यो ।
स्थानीय राम घिमिरेले भने- जसले मलाई जग्गा बेच्नुभयो, उहाँले यसलाई बाटो भनेर देखाउनुभएको थियो । त्यो बाटो नै थियो । तर पछि जग्गाको भाउ बढ्न थालेपछि उहाँहरुमा लोभ पलायो र यो बाटो होइन भन्दै बेचबिखन गर्ने प्रपञ्चमा लागेपछि भने हामीले यसलाई बाटो कायम हुनुपर्छ भनेर नगरपालिकादेखि मालपोतसम्मलाई घचघच्याइरहेका छौं । यो बाटो नै हो । बाटो बन्द गर्ने प्रयत्न गरे हामी जस्तोसुकै कदम चाल्न पनि तयार छौं ।
करिब २० वर्षदेखि बसोबास गरिरहनुभएका हरिप्रसाद दाहाल भन्छन्- मैले देखेदेखि नै यो बाटोकै रुपमा प्रयोग भएर आइराखेको हो । बाटो नै हो । मैले यहाँ पछाडि जग्गा किन्दाखेरि पनि यो बाटो नै हो भनेर मलाई किनाएका हुन् । त्यसैले मैले यसलाई जसरी पनि नेपाल सरकारको बाटो हुनुपर्छ, बनाउनुपर्छ भनेर लागिरहेको छु । कुनै पनि हालतमा बाटो बन्द गर्न पाइँदैन ।
स्थानीयले पाए सास्ती
झण्डै पाँच दशकदेखि चलनचल्तीमा रहेको बाटोलाई सरकारी कायम नगरेकै कारण स्थानीयले सास्ती पाइरहेका छन् । पीडित स्थानीयहरु भन्छन्- काठमाडौं महानगरपालिका भएको भए यसलाई उहिल्यै ठीक पारिसक्थ्यो, तर यहाँ त्यति तदारुकताका साथ काम नहुँदा हामीले दुःख पाइरहेका छौं । बाटो मेटाउने दुष्प्रयास भइरहेको छ । यो कुनै पनि परिस्थितिमा स्वीकार्य छैन । २०७७ साल माघ ११ गतेको मध्यपुर थिमी नगरपालिकाले गरेको स्थलगत निरीक्षणका क्रममा दिइएका सुझावहरुमा कित्ता नं. १३ मा २० फुट चौडाई रहेको बाटो देखिन्छ भनिएको छ । सो कित्तामा नेपाल विद्युत् प्राधिकरणको विद्युत पोल गाडी विद्युत लाइन वितरण गरेको देखिन्छ । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख रहेको न्यायिक समितिले यसलाई हेरिरहेको छ । चाँडै नै यो बाटो कायम गर्नमा नगरपालिकाले आफ्नो भूमिकालाई सशक्त बनाउने छ भन्ने हाम्रो पूर्ण अपेक्षा छ ।
यसरी नगरपालिका आफैंले बाटो रहेको देखिन्छ भनेर तत्कालीन अवस्थामा गरेको सिफारिशलाई कुल्चिंदै हाल मध्यपुर थिमी नगरपालिका वडा नं. २ का प्रतिनिधिले स्थलगत निरीक्षण र सर्जमिन नै नगरी सिफारिश गरिदिएपछि बाटोको रुपमा प्रयोग भइरहेको जग्गा बिक्री-वितरणको प्रपञ्च भइरहेकोमा स्थानीयहरु आक्रोशित बनेका हुन् । करिब पाँच दशकदेखि सार्वजनिकरुपमा आवातजावतको रुपमा प्रयोग भइरहेको बाटोमा गिद्देदृष्टि लगाउनु किमार्थ आफूहरुलाई स्वीकार्य नभएको स्थानीयहरुको आक्रोश छ ।
प्रकाशित समय ०७:४० बजे





















