भू-उपग्रह माध्यम प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । सो अवसरमा मन्त्री भण्डारीको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भू-उपग्रह माध्यम प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको हो ।
सो सम्झौताबाट नेपालले थुप्रै फाइदाहरु लिन सक्ने जनाइएको छ । जसमा- कृषि बजार सूचना र विश्लेषण : नेपालको कृषि वस्तुहरूको मूल्य संकलन गर्छ । यसले दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग पुर्याउँछ । कृषि वस्तु अनुसन्धान र परामर्श : कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन् । कृषि निवेश अध्ययन र सल्लाह : बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्दछ । डिजिटल कृषि समाधानहरू : डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ । कृषि समाचार र जानकारी : एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ ।
सो कार्यक्रममा भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीइएल)का प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति रह्यो । भारत सरकारले कृषि क्षेत्रको प्रवर्द्धन र कोटा निर्यात लगाएत कृषिसँग सम्बन्धित बिषयमा एनसीइएललाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने हुँदा भारतको औद्योगिक बस्तु निर्यातमा एनसीइएलको ठूलो हात रहेको छ । भारतले नेपाललाई दिएको २ लाख टन गहुँलगायत विगतमा चिनी लगायतका खाद्यान्न नेपाल आयात गर्दा एनसीइएलमार्फत् नै आयात गरिएको थियो । एनसीइएल र नेपालको सम्बन्धमा अझ प्रगाढ ल्याउने उद्देश्य अनुरुप प्रबन्ध निर्देशकलाई संघको विशेष अनुरोधमा नेपाल आमन्त्रण गरिएको हो । साथै सभामा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघका संस्थापक अध्यक्ष रविन्द्रबहादुर श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
प्रकाशित समय १६:५० बजे





















