साउदीले खजुरबाट उत्पादन गर्यो चिसो पेय पदार्थ ‘मिलाफ कोला’
कतार । साउदी अरबले आफ्नो देशमा उत्पादन हुने प्राकृतिक फल ‘खजुर’को सदुपयोग गर्दै विश्वमा पहिलो पटक खजुरद्वारा उत्पादन गरिएको चिसो पेय पदार्थ बजारमा ल्याउन सफल भएको छ । यसको नाम मिलाफ कोला राखिएको छ । यो अनौठो प्रयास केवल एउटा पेय पदार्थसम्म मात्रै सीमित रहेको छैन । तथापि यो स्वस्थ जीवनशैली र आफ्नो भूमिमा उत्पादन हुने वस्तुको सही सदुपयोग गर्दै निरन्तर विकाससँग जोडिएको महत्वपूर्ण पाटो पनि हो । जसले साउदी अरबले आफ्नो विकास गाथामा उसको प्रतिबद्धता पनि झल्काएको छ । मिलाफ कोलाको उत्पादनले सफ्ट ड्रिंकको क्षेत्रमा एउटा तरंग पैदा गरिदिएको बताइन्छ । मिलाफ कोलालाई पहिलो साउदी अरबमा वर्षेनि लाग्ने खजुर महोत्सवको अवसरमा रियादमा सार्वजनिक गरिएको हो । यसलाई पछिल्लो रियाद सिजनमा पनि सहभागीहरु माझ वितरण गरिएको थियो ।
यो पेय पदार्थ साउदी अरबस्थित थुरत अल मदीना नामक कम्पनीले तयार गरेको हो । यसको उत्पादनको उद्देश्य मानिसको शारीरिक ताजगीलाई स्वास्थ्यसँग जोड्नु पनि रहेको बताइएको छ । यसलाई सफ्ट ड्रिंकको इतिहासमा अनौठो उत्पादन जुन स्वस्थ्यवद्र्धक एवं दीर्घ टिकाऊतर्फको अर्को नवीनतम यात्रा पनि भनिएको छ । साउदी अरबको पहिचान खजुरसँग पनि गहिरो रुपले जोडिएको छ ।
साउदी अरबमा हाल ३४ मिलियन खजुरका बोट तथा रुखहरु रहेको छ । जसबाट वर्षेनि १.६ मिलियन टन खजुर उत्पादन हुन्छन् । विशेषगरि अल कसीम प्रान्तमा मात्रै ११.२ मिलियन खजुरको रुखहरु रहेको पाइन्छ । त्यसैगरी मदीना रियाद लगायत साउदी अरबको पूर्वी क्षेत्रमा पनि उल्लेख्य मात्रामा खजुरको खेती गर्ने गरिन्छ । यो देश केवल खजुर उत्पादनमात्रै गर्दैन र ठूलो मात्रामा खजुर निर्यातमात्र गर्दैन खजुर साउदी अरबको संस्कृति र खानपिनको अभिन्न अंग पनि हो । खजुरमा अनगिन्ती पोषणतत्वहरु पाइन्छन् । यसमा प्रचुर मात्रामा फाइबर भिटामिन र खनिज पाइन्छ ।

साउदीमा उत्पादन हुने खजुरका विभिन्न जातहरु पनि छन्, जस्तै सुक्करी, बरही, रजिज, सगई, खलास सुफ्री, सफवी, खुद्री, हलावा, अन्बारा, बेरहिइ रोथाना हुन् भने अजवा यहाँको बहुमूल्य खजुर मानिन्छ । यसैगरी खजुरको उपयोग परम्परागत खाद्य पदार्थसम्म मात्रै सीमित छैन । चिनीरहित साउदी अरबको यो पृथक उत्पादन एवं नवीनतम आविस्कार ‘मिलाफ कोला’ यसको असल र उत्तम उदाहरण हो । अन्ततः यसलाई साउदी अरबले आफ्नो भिजन २०३० को अर्को महत्वपूर्ण अंग पनि भएको बताएको छ ।
जसले कृषि क्षेत्रमा आधारित अर्थ व्यवस्थामा क्रान्ति ल्याउने र विविधीकरण तथा नवीनताप्रति जोड दिनेछ । नेपालको हिमाली भागमा उत्पादन हुने दर्जनौं प्रकारका स्याऊ, पहाडी भागमा उत्पादन हुने सुन्तला र तराई क्षेत्रमा उत्पादन हुने आँपलाई पनि यसैगरी उत्पादनसँग गाँस्न सक्ने हो भने नेपालले पनि कृषिको क्षेत्रमा उल्लेख्य विकासगरी देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नसक्ने कुरा साउदी अरबको यो नवीनतम पहलकदमीले ठूलो सन्देश दिएको छ ।
प्रकाशित समय १६:२५ बजे



















