1100×100 Nabil Advert

लेखामान कार्यान्वयन गर्न नियामकको सहयोग रहन्छ : अध्यक्ष सिलवाल

ललितपुर । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा नेपाल वित्तीय प्रतिवेदन मान-१७ कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आगामी २०८२ साल साउन १ गतेदेखि बीमा क्षेत्रमा पूर्णरूपमा कार्यान्वयनमा आउन लागेको मान-१७ को कार्यान्वयनका लागि बीमा कम्पनीहरूले गर्नुपर्ने तयारी, नियामक निकायहरूको भूमिका, जनशक्ति तथा नविनम् प्रविधिको प्रयोग लगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले आगामी २०८२ साल साउन १ गतेदेखि मान-१७ कार्यान्वयन गर्नुपर्ने भएकाले अहिलेदेखि नै यसलाई गम्भिरतापूर्वक लिई आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो । अध्यक्ष सिलवालले भन्नुभयो, ‘मान-१७ कार्यान्वयन गर्न कठिनाई भए पनि कार्यान्वयन गर्नुपर्छ, गर्न सकिन्छ, यसका लागि मार्गनिर्देश बनाएर अगाडि बढ्नुपर्छ, नियामक निकायहरू सहयोग गर्न तयार छन् ।’

अध्यक्ष सिलवालले मान-१७ कार्यान्वयनमा सहयोग गर्न प्राधिकरणको संयोजकत्वमा लेखासम्बन्धी नियामक निकायहरूका यससम्बन्धी विज्ञहरू रहेको समिति गठन गर्नु आवश्यक रहेको उल्लेख गर्नुहुँदै त्यसमा सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष प्रवीण कुमार झाले बीमा क्षेत्रमा मान-१७ कार्यान्वयनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्सबाट सूचना आदान-प्रदान लगायत पूर्णरूपमा सहयोग हुने जानकारी दिनुभयो ।

लेखापरीक्षणमान बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि र गुणस्तरीय जनशक्तिलाई आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले आगामी आर्थिक वर्षदेखि मान-१७ कार्यान्वयन गर्नका लागि ठोस कार्ययोजनाका साथ समयमैं काम शुरू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखापरीक्षणमान बोर्ड र लेखामान बोर्डका पदाधिकारी, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्ष तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रकाशित समय १३:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु