बीमा प्राधिकरणले गर्यो लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी कार्यक्रम
ललितपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा आज लुम्बिनी प्रदेशको राप्ती उपत्यकामा ‘प्रदेश सरकारसँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले प्रदेश सरकारले नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर ‘प्रदेश बीमा नीति’ ल्याउने जानकारी दिनुभयो । उहाँले कृषि तथा पशुपन्छी बीमा र स्वास्थ्य बीमामा समस्या रहेको उल्लेख गर्नुहुँदै बीमा दाबी भुक्तानीलाई सरल र छिटोछरितो तुल्याउन प्राधिकरणले सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले नागरिकले बीमा सेवा सुविधा सजिलै प्राप्त गरेमा बीमाप्रतिको विश्वास बढ्ने भएकाले बीमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र बीमा दाबी भुक्तानी समयमैं दिनुपर्ने बताउनुभयो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको उल्लेख गर्नुहुँदै नागरिकको हितलाई ध्यानमा राखेर सामूहिक दुर्घटना बीमा र घर बीमा गर्न प्रदेश सरकारलाई सुझाव दिनुभयो । अध्यक्ष सिलवालले बीमाबाट हुने फाइदाका बारेमा बुझेर ‘प्रदेश बीमा नीति’ निर्माणमा लाग्न आग्रह गर्नुहुँदै विपद्लाई बीमासँग जोडेर काम गर्दा बढी आर्थिक सुरक्षण प्रदान गर्न सकिने भएकाले त्यस कार्यमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमाको महत्व, बीमा गर्ने विधि, दावी भुक्तानी प्रक्रिया, बीमा क्षेत्रको विद्यमान अवस्था र बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले बीमितले समयमैं दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, जीवन बीमा नवीकरण गर्न ढिला भएमा कम्पनीले धेरै ब्याज लिने गरेको, विदेशी बीमा कम्पनीमा बीमा गर्ने प्रचलन अझै पनि नहटेको लगायतका जिज्ञासाहरू राख्नुभएको थियो । बीमा अभिकर्तालाई बढी जिम्मेवार बनाउनुपर्ने र कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकतामा राखी कार्य गर्नुपर्ने आवश्यकता उहाँहरूले औंल्याउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योन्स लिमिटेड र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र विभिन्न बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले गर्नुभएको थियो ।
प्रकाशित समय १७:१५ बजे





















