सर्वसाधारणलाई भ्रमित पार्न खोजियो : अध्यक्ष सिलवाल
ललितपुर । बीमा क्षेत्रको नियामकीय निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आफूविरुद्ध भ्रम छरिएको दावी गर्नुभएको छ । आफ्नो जन्ममिति र पदावधिको विषयलाई लिएर आएका समाचारहरु भ्रमपूर्ण भएको एक विज्ञप्तिमार्फत् जनाउनुभएको छ । उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ- ‘नेपाल बीमा प्राधिकरणको अध्यक्ष म, सूर्यप्रसाद सिलवालको जन्ममिति र पदावधिलाई लिएर केही सञ्चार माध्यममा आएका भ्रमपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो जन्ममिति र प्राधिकरणको अध्यक्षको पदावधिलाई लिएर कपोलकल्पिक, भ्रमपूर्ण, मनगढन्ते र प्रचलित कानूनको आफूखुशी अपव्याख्या गरी कसैको स्वार्थ पूर्ति गर्ने हेतुले समाचार प्रकाशित गरेर मेरो मान, सम्मान, निष्ठा र प्रचलित बीमा ऐन नियम बमोजिम मैले निर्वाह गर्दै आएको भूमिकामा भ्रम सिर्जना गर्ने गलत मनसायले गरिएको दुषित प्रयासप्रति खेद व्यक्त गर्दछु ।’
अध्यक्ष सिलवालले विज्ञप्तिमा अगाडि भन्नुभएको छ- ‘मेरो शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति वि.सं. २०१५ साउन १५ गते रहेको छ । वि.सं. २०३२ सालमा नागरिकता प्रमाणपत्र लिँदा मेरो उमेर १६ वर्ष कायम रहेको उल्लेख छ । त्यतिबेला नागरिकता प्रमाणपत्रमा जन्ममिति उल्लेख गर्ने खण्ड नभई उमेर मात्र खुलाउनु पर्ने भएकाले उमेर मात्र खुलाइएको हो । यस अर्थमा मेरो जन्ममिति वि.सं. २०१६ साल भएको स्पष्ट छ । मैले त्यतिबेला लिएको नागरिकता प्रमाणपत्र धेरै पुरानो-झुत्रो भएका कारण काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिँदा नागरिकता प्रमाणपत्रमा जन्ममिति उल्लेख गर्नुपर्ने खण्डमा मेरो जन्मपात्रो (चिनो) मा भएको जन्ममिति वि.सं. २०१६/७/२२ खुुलाइएको छ । मैले नागरिकता प्रमाणपत्रको प्रतिलिपि मात्र लिएको हुँ, अर्को नागरिकता प्रमाणपत्र लिएको छैन । मसँग एउटा मात्र नागरिकता छ । यस वास्तविकतालाई बेवास्ता गरी प्रतिलिपिलाई पनि कुत्सित मनसायले नयाँ नागरिकता प्रमाणपत्र भन्दै तीनवटा नागरिकता प्रमाणपत्र लिएको भनी कपोलकल्पित, मनगढन्ते र दुषित किसिमले भ्रमपूर्ण समाचार तयार गरी प्रकाशन गरिनु दुःखद् छ, खेदजनक छ, आपत्तिजनक छ ।’
उहाँले भन्नुभएको छ- ‘निजामती सेवा ऐन र नियमावलीमा जन्ममिति गणना गर्दा नागरिकता वा शैक्षिक प्रमाणपत्रमा उल्लेखित मिति फरक-फरक भई कायम गर्नुपर्दा जुन उमेर अघि आउँछ, सोहीअनुसारको उमेर कायम हुने व्यवस्था भएबमोजिम मेरो शैक्षिक प्रमाणपत्रको जन्ममिति नागरिकता प्रमाणपत्रको जन्ममितिभन्दा अगाडि भएकाले वि.सं. २०१५/४/१५ लाई जन्ममिति मानी नेपाल सरकारको सचिवबाट मेरो अनिवार्य अवकाश भएको व्यहोरा मेरो व्यक्तिगत विवरण फाइलमा स्पष्ट नै छ । यसर्थ, सम्बद्ध सरकारी निकायमा भएका कागजातबाट नै स्पष्ट हुने विषयलाई तोडमरोड गरिनु, यसका बारेमा मनगढन्ते कथा तयार गरेर समाचारको रुप दिनु घोर आपत्तिजनक छ, खेदजनक छ ।’
अध्यक्ष सिलवालले अगाडि भन्नुभएको छ- ‘यसैगरी, वि.सं. २०७७ साल माघ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट म, नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) को अध्यक्षमा चार वर्षका लागि नियुक्त भएको हुँ । बीमा ऐन, २०४९ र बीमा ऐन, २०७९ दुबैमा अध्यक्षको पदावधि नियुक्त भएको मितिले चार वर्षको हुनेछ भन्ने स्पष्ट व्यवस्था रहेको हुँदा सोही व्यवस्था बमोजिम चार वर्ष पुग्ने मितिसम्म मेरो पदावधि कायम रहने कुरा स्पष्ट नै छ । बीमा ऐनमा अध्यक्ष पदको कुनै उमेर हद नतोकिएको यथार्थलाई बेवास्ता गरेर तथा त्यसमा मेरो उमेरको विषयलाई भ्रमणपूर्ण र निहित स्वार्थ प्रेरित ढङ्गले जोडेर समाचार प्रकाशित गरेको स्पष्ट हुन्छ । यसर्थ, ऐनमा भएको व्यवस्था विपरित कुत्सित मनसायले मेरो उमेरको कुरा उठाउन खोज्नु बुझेर पनि बुझ पचाउने र भ्रम छर्ने प्रयास हो ।’
उहाँले भन्नुभएको छ- ‘संचार माध्यमले सदैव सत्य, तथ्य र प्रमाणित समाचार निष्पक्षरुपमा प्रकाशन गरेर नागरिकलाई सुसूचित गराउँछन् भन्ने आम मान्यता रहेको छ । तर, निहित स्वार्थ समूहको उक्साहट वा प्रभावमा परेर हुँदै नभएको कुरालाई बलजफत् जनमानसमा स्थापित गर्ने दुष्प्रयत्न हुनु पत्रकारिता क्षेत्रकै लागि निकै दुखद् विषय हो । कसैको स्वार्थ सिद्ध गर्नका लागि सर्वसाधारणलाई भ्रमित पार्न गरिएको यस प्रकारको कलोलकल्पित र भ्रामक समाचारप्रति पुनः खेद प्रकट गर्दै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित सञ्चार माध्यम नै हुने स्पष्ट गर्दछु ।’
प्रकाशित समय २२:२७ बजे





















