पहिरोले डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध
अविरल वर्षाले आइतबार बिहान डुम्रे बेँसीसहर सडकअन्तर्गत बेसीसहर नगरपालिका–१ दलालमा झरेको पहिरो । पहिरोले यस सडकको विभिन्न स्थानमा अवरुद्ध भएकाले सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुहरु अलपत्र परेका छन् । तस्बिर जनक श्रेष्ठ/रासस
लमजुङ । पहिरोले डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका-१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भिरमा ठूला-ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।
सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।
प्रकाशित समय १०:५९ बजे




















