बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिंदै
कैलाली । बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका-३ को पकरियापुरमा सुरक्षित आवास निर्माण शुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।
वर्षांैदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।
नगरपालिकाले गत वर्ष वडा नं ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो । बर्सेनि अन्य संघ-संस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।
स्थानीय छेदु डगौराले उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुबानबाट छुटकारा पाइने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले वर्षौंदेखिको सरकारसँगको माग अहिले आएर पूरा भएको बताउनुभएको छ । ‘वर्षाैंदेखिको हाम्रो पीडा सरकारले सुनेको छ । हामीले सरकारसँग माग्दै आएको माग अब पूरा हुँदैछ । महिनौंसम्म बाढीका कारण सडकमा बस्नुपर्ने हाम्रो बाध्यता अब सधैंका लागि अन्त्य हुनेमा विश्वस्त छौं ।’
स्थानीय शिवजी डगौरा पनि उच्च घर निर्माण हुन थालेपछि यतिबेला उत्साहित बन्नुभएको छ । घरको सबै जायजेथा बोकेर महिनौं सडकमा त्रिपालमुनि बस्नुको पीडाबाट छुटकारा पाउने आशामा शिवजी उत्साहित बन्नुभएको हो ।
पकरियापुरमा एउटा नमूना घरसहित २५ घर निर्माण भइरहेका छन् । सत्तरी लाख ४९ हजार नौ सय २२ लागतमा निर्माण हुनलागेको ती घरका लागि नगरपालिकाको २४ लाख लगानी छ । त्यसमा राष्ट्रिय दलित नेटवर्कले १ लाख २९ हजार छ सय लगानी गर्दा २५ लाख ३० हजार तीन सय २२ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ ।
राष्ट्रिय दलित नेटवर्कका लालबहादुर डगौरा थारूले संस्थामार्फत सञ्चालित सुरक्षित आवास परियोजनाले सरकारसँग सहकार्य गर्दै विपन्न वर्गका आवास निर्माणका काम गर्दै आएको बताउनुभएको छ । ‘प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारीमा विभिन्न स्थानीय तहमा आवश्यकतानुसारको आवास निर्माणको काम गर्दै आएका छौं’, उहाँ भन्नुहुन्छ, ‘खासगरी सामाजिक तथा आर्थिकरूपमा कमजोर नागरिकलाई सुरक्षित आवास निर्माण गर्ने काम हुँदै आएको छ ।’ परियोजनाले यसअघि कैलारी गाउँपालिकाको विपतपुरमा २७, लम्कीचुहा नगरपालिकामा २०, घोडाघोडी नगरपालिकामा १२ घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिसकेको थारूले बताउनुभयो ।
प्रकाशित समय १३:३५ बजे



















