राष्ट्र संघलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ : मन्त्री यादव
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राष्ट्र संघलाई सबल र प्रभावकारी संयुक्त राष्ट्र संघ बनाउन नेपालको पूर्ण सहयोग रहने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ७५औं बैठकमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहनुभएका उपप्रधानमन्त्री यादवले आज राष्ट्र संघको ७८औं महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग भएको भेटवार्तामा उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।
उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दीगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गर्नुभएको थियो । उहाँले शान्ति, समृद्धि र दिगो विकासका निम्ति अध्यक्ष फ्रान्सिसले अगाडि बढाउनुभएका प्राथमिकताप्रति नेपालको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासभाका अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको उल्लेखनीय सुधारको सराहना गर्दै नेपालको दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असर घटाउन राष्ट्र संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसअघि नेपालसहित डेनमार्क, आयरल्याण्ड, स्वीडेन, कोलम्बिया र संयुक्त अधिराज्यले राष्ट्र संघमा संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा नेपालले गरेका प्रगति तथा चुनौतीबारे जानकारी दिंदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्वपूर्ण भएको बताउनुभयो । सो अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।
प्रकाशित समय १३:०९ बजे



















