महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले श्री कादमबरी एकेडेमी, श्रीपूर वीरगञ्जमा अध्ययनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्ययनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व.हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गर्नुभएको हो । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गर्नुभयो । आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गर्नुभयो ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगतदेखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको महालक्ष्मी विकास बैंकले आम ग्राहकहरुको बैकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर थर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।
प्रकाशित समय १५:४० बजे




















