1100×100 Nabil Advert

उद्योगी–व्यवसायीका समस्या लिखित पठाउनुस् : अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको बताउनुभएको छ । मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा.महतले भन्नुभयो, ‘उद्योगी–व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाउँ । नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ रोजगारी यही सिर्जना गरौं ।’

उहाँले भन्नुभयो, ‘विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सिप लिएर आएका छन्, उनीहरु आधुनिक कृषिकर्म गर्दैछन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ । यसले कृषि क्षेत्र आधुनिकीकरण हुन्छ र उत्पादन बढ्छ । उद्योग व्यावसायीले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न म अनुरोध गर्दछु ।’

हाम्रो अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ, आउँदा दिनमा सकारात्मक संकेतहरु देखिने र आर्थिक वृद्धि हुने मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले जति पनि तथ्यांकहरु छन्, यी तथ्यांकले अहिलेको मैले भनेका कुराको पुष्टि गर्छ । हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेटमार्फत् घोषणा गरेका थियौं, अहिले ५ दशमलब ३८ मा मूल्यवृद्धि झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ ।’
उहाँले भन्नुभयो, ‘सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि केही गति समातेको छ । बैंकहरुले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुनसक्छ । पर्यटक आगमन अहिलेसम्मकै उच्च हो ।’

हाम्रो पूर्वाधारमा ठूलै समस्या रहेको, पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न सकेको उहाँको भनाइ थियो । आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘त्यसैगरी रेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भयो । यो पूँजी प्रवाह हाम्रै अर्थतन्त्रमा भएको छ । त्यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा दुई मत छैन । हाम्रो सञ्चितिले एक वर्ष पुग्छ । सबै सूचक सकारात्मक भएको अवस्थामा लक्ष्य गरेको आर्थिक वृद्धिमा हामी पुग्न सक्छौं ।’

अहिलेको आवश्यकता भनेको आत्मविश्वास रहेको छ, यो देशमा भविष्य छैन भन्ने नकरात्मक प्रचारले आत्मविश्वास कम भएको छ’ उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक भएको अवस्थामा उद्योग व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सकारात्मक बहसको थालनी गर्न अनुरोध गर्दछु ।’

आउँदो बजेटमा अझ सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री डा. महतको भनाइ छ । उहाँले भन्नुभयो, ‘खुला सीमा भएकाले अझ धेरै समस्या छन्, चुहावट कम गर्ने प्रयास भइरहेको छ । सबैको सहयोगको आवश्यकता छ । पारी गएर किनमेल गर्ने प्रवृत्ति बढी छ । यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले सामूहिक प्रयास थाल्नुपर्छ ।’

प्रकाशित समय २०:४३ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु