एनआरएनएले १० करोडको राहत कोष बनाउने, धमाधम घोषणा हुँदै आर्थिक सहयोग
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आर के शर्माले आउँदो दुई वर्षभित्र दश करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन् । उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन् । शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ । जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसारभरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे । उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए ।
उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख, उपाध्यक्ष गोविन्द श्रेष्ठ रोविन्दले ३ लाख, कृष्णजीवि पन्थले २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । त्यस्तै उपाध्यक्ष डा.केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने जनाए ।
एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबारसम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए। कार्यक्रमको संचालन गरिरहेका महासचिव बुद्धिसागर सुवेदीले सबै सहयोगदाताहरुलाई धन्यवाद दिंदै नेपालीलाई विपद परेको बेला मन खोलेर सहयोग गर्न अपिल गरेका थिए।
नेपालमा परेको विपदको घडीमा संसारभर रहेका नेपालीहरुले सहयोग जुटाउनुपर्छ भन्ने पवित्र उद्देश्यका साथ भएको भर्चुअल मिटिङमा आरके शर्मा, ठाकुरप्रसाद ढुंगाना, संघर्षशील केसी, खगेन्द्र न्यौपाने, महेश श्रेष्ठ, बुद्धिसागर सुवेदी, कुल आचार्य, पूर्ण तिमिल्सिना, सन्तोष क्षेत्री, गोविन्द श्रेष्ठ, गोविन्द सुवेदी, नारायण आचार्य, टंक गैरे, अब्दुल बसिद, शनि के, गोकर्ण अधिकारी, केजिन राई, हरि खत्री, गंगा भुसाल, गोपाल डाँगी, गुणराज शर्मा, अनुप खनाल, प्रमोद सिटौला, विष्णुहरि घिमिरे, सावित्रा गिरी, शैलेन्द्र अधिकारी (शैलु), शेरबहादुर परियार, समिर केसी, राजकुमार सिग्देल, मदन थेवे, कृष्णजीवी पन्त, दिपक भट्टराई, नारायण सुवेदी, रामहरि अधिकारी, भुवन कँडेल, सरिता भण्डारी पौडेल, चित्र सुवेदी, भुवन के वाग्ले, छविलाल कँडेल, उत्तम गुरुङ, भरत थापा भगिरथ योगी, रुद्र शर्मा, पर्वत चलाउने, रञ्जन कुँवर, बाबुराम विश्वकर्मा, गंगाधर गौतम, असिम तामाङ, विनोद केसी नेपाली, वेद खरेललगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय ०९:१९ बजे





















