प्राइम कमर्सियल बैंकको पहिलो त्रैमासमा बढ्यो ३१.७३ प्रतिशत मुनाफा
काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ३१.७३ प्रतिशत मुनाफा बृद्धि भएको छ । गत वर्षको सोही त्रैमासभन्दा ३१.७३ प्रतिशतले खुद मुनाफा बृद्धि गरी बैंकले रु. १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गरेको छ । यस समीक्षा अवधिमा बैंकले गत वर्षको सोही अवधिको भन्दा ३१.३५ प्रतिशतले संचालन मुनाफामा बृद्धि गरी रु १ अर्ब ६५ करोड आर्जन गरेको छ । साथै बैंकले समीक्षा अवधिमा गत वर्षको सोही अवधिभन्दा ३४.२१ प्रतिशतले बृद्धि गरी कूल रु. ६५ करोड गैरकोष आम्दानी आर्जन गरेको छ ।
यस समीक्षा अवधिमा बैंकले गत वर्षको सोही अवधिभन्दा २३.३९ प्रतिशतले बृद्घि गरी कुल रु. २ खर्ब १६ करोड निक्षेप संकलन गरेको छ । बैंकले पहिलो त्रैमासको अवधिमा मात्रै रु. २१ अर्ब ६० करोड अर्थात १२.०९ प्रतिशत निक्षेप बृद्धि गरेको छ । यसैगरी कर्जा लगानी तर्फ, बैंकले गत वर्षको सोही अवधि भन्दा १४.१२ प्रतिशतले बृद्धि गरी कुल रु. १ खर्ब ७६ अर्ब कर्जा प्रवाह गरेको छ ।
गतवर्ष बैंकले मुलुकको वर्तमान अर्थतन्त्र एवं उद्योग व्यवसायहरुमा परेको नकारात्मक प्रभावलाई मूल्यांकन गर्दै आफ्नो आर्थिक अवस्थालाई मजबुत बनाउन यथेष्ट कर्जा नोक्सानी व्यवस्था गरेकाले समीक्षा अवधिमा कर्जा असुलीमा सुधार भई खुद मुनाफामा सकारात्मक सुधार देखिएको छ । गत त्रैमासको अवधिभन्दा यस त्रैमासमा वितरण योग्य मुनाफामा उल्लेख्य सुधार गर्दै रु. ४२ करोड ३१ लाख संचित मुनाफामा थप योगदान गर्दै कुल ६२ करोड ८६ लाख पुर्याउन बैंंक सफल भएको छ । साथै बैंकको निष्कृय कर्जाको अनुपात गत आर्थिक वर्षको अन्त्यमा ४.२३ प्रतिशत रहेकोमा यस समीक्षा अवधिमा ३.६७ प्रतिशतमा घट्न गएको छ । यसैगरी प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यमा रु. ११.६६ रहेकोमा समीक्षा अवधिमा रु. २३.७४ मा बृद्धि भएको छ ।
प्रकाशित समय १४:२९ बजे





















