1100×100 Nabil Advert

आरके शर्मा नेतृत्वको एनआरएनएसँग प्रधानमन्त्री प्रचण्डले भने– सहकार्य गरेर अगाडि बढौं

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर के शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताउनुभयो । ‘एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘देश विकासका मुद्दामा सरकार सदैव गैरआवासीय नेपालीसँग सहकार्य गर्न तयार छ ।’ प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरूको मागअनुसार नागरिकता विधेयक कार्यान्वयन आएर गैरआवासीय नागरिकता दिन थालिएको र आगामी दिनमा विदेशबाट नेपाली मत दिन पाउने व्यवस्था कार्यान्वयन हुने बताउनुभयो ।

नयाँ कार्यसमितिसमक्ष नेपालमा लगानीको अनेकौं अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी गर्न सुझाव गर्नुभयो । उहाँले मुलुकको समृद्धिमा गैर आवासीय नेपालीहरूको महत्वपूर्ण भूमिका हुने भन्दै समृद्धिको यात्रामा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । सो अवसरमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष शर्माले संघ सरकारसँगको सहकार्यमा काम गर्न तयार रहेको बताउनुभएको थियो । आफूले चुनावी घोषणापत्रमा २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा गरेको भन्दै सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । आफूहरू गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने अभियानमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मासहित पूर्वअध्यक्ष कुल आचार्य, सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ, गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी, उपमहासचिव प्रविन गुरुङ, सचिव टंक गैरे, मनोज श्रेष्ठ गोर्खाली, कोषाध्यक्ष ठाकुर ढुंगाना, एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता डिबी क्षेत्री, नारायण आचार्य, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी हुनुहुन्थ्यो । एनआरएनए अध्यक्ष शर्माको नेतृत्वको टोलीले आइतबार नै अर्थमन्त्री प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो । आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रकाशित समय २०:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु