1100×100 Nabil Advert

सम्झौताले प्रदेशमा आर्थिक विकासका लागि सहयोग पुग्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवर्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज महासंघमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिम प्रदेशमा लगानी प्रबद्र्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ । सोहीअनुसार प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी २०८० साल फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने महासंघ अध्यक्ष ढकालले प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष ढकालले भारत र चीनमा ‘बिजनेस समिट’ आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । महासंघको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक विकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताउनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महासंघसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनका अवसरमा सुदूरपश्चिममा लगानी आउनेमा विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजनामन्त्री नरेश शाहीले सुदूरपश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभयो । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठ र महासंघ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि धारणा राख्नुभएको थियो । महासंघले लगानी सम्मेलनका लागि अन्य प्रदेश सरकारसँग पनि छलफल गरिरहेको छ।

प्रकाशित समय १५:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु