1100×100 Nabil Advert

साना उद्योगले मात्रै समृद्धि र खुशी ल्याउँछ : मन्त्री साउद

काठमाडौं । परराष्ट्र मन्त्री एन पि साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समिति, ग्लोबल इण्डिया मिशन र इण्डियन युथ च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिले आइतबार राजधानीमा संयुक्तरुपमा आयोजना गरेको ‘नेपाल भारत अन्तराष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘परिवारमा सुख समृृद्धि र खुशी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ । तपाईहरुको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डोर्‍याउने छ । स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन् ।’

उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । ‘नेपाल र भारतबीच अत्यन्त निकटसम्वन्ध रहेको छ हामी एउटै नदीको पानी पिएर हुर्किन्छौ । हाम्रो सभ्यता र सस्कृति एउटै रहेको छ । दुवै देश बीचको व्यवशायिक सम्वन्धलाई सुदृढ गर्न मेरो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’–उहाँले भन्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय समितिका अध्यक्ष उमेश प्रसाद सिँहले स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा होस घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्यांकले पुष्टि गरेको बताउनुभयो । छरिएर रहेको पूँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी बृद्घि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले महासंघ अन्तराष्ट्रिय उद्यम फोरममा समेत जोडिएको बताउनुभयो ।

नेपालमा उद्योग स्थापना गर्न चाहने भारतीय उद्यमीहरुलाई स्वागत गर्ने भन्दै अध्यक्ष सिँहले भन्नुभयो ‘हामी नेपाल भारतको साँस्कृतिक सम्बन्धलाई उद्यमशीलताको क्षेत्रमा जोडन चाहन्छौं । आगामी दिनमा नेपाली उत्कृष्ट महिला उद्यमीलाई भारतको औद्योगिक गतिविधीको अध्ययन भ्रमण गराउन चाहान्छौ ।’ अन्तराष्ट्रिय कोदो वर्ष २०२३ सँग सम्बन्धित कार्यक्रम भारतीय राजदुतावाससँगको सहकार्यमा गर्ने विषयमा हमाी क्रियाशिल रहेको उहाँले बताउनुभयो । कार्यक्रमका संयोजक एवं घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका महासचिव डा. सोनी महतोले महिला उद्यमशिलताको क्षेत्रमा लगानी बृद्धि, उद्योग स्थापनामा सहजीकरण, सहज सीपमूलक तालीम, सरल व्यवसायीक कर्जा तथा उपयुक्त प्रविधिमा सर सहयोग विस्तार गर्दै महिलाहरुले सञ्चालन गरेका उत्पादनमूलक व्यवशायहरुलाई विशेष कर छुटको व्यवस्था गर्न सकिएको खण्डमा, महिलाहरु घरेलु तथा साना उद्योग व्यवसायमा आकर्षित हुने सम्भावनातर्फ राज्यले ध्यान पु¥याउन जरुरी भएको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले देश विकासको महत्वपूर्ण पाटो आर्थिक विकास भएको भन्दै रोजगारी सिर्जना गर्ने व्यवसाय सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । ‘बिहान उठेदेखि सुत्ने बेलासम्म हामीले विदेशमा उतपादन भएका वस्तु उपयोग गर्ने परिपाटीमा सुधार आउन पर्दछ ।’ उहाँले भन्नुभयो ‘महिलाहरुको व्यवसायमा ४० प्रतिशत कर छुटको व्यवस्था मिलाएका छौं । विभिन्न तालिमहरु पनि सञ्चालन गरेका छौं र तालीम पश्चात व्यवसाय स्थापना र बजारीकरणमा जोडने गरी कार्यक्रम डिजाइन गरेका छौं । ३२ वडामा ३२ प्रकारको वस्तु उत्पादन हव बनाउने निर्णय समेत गरेका छौं ।’ निर्णय प्रकृयामा महिला सहभागीता हुन सके पनि अर्थपूर्ण सहभागिता आवश्यक हुने भएकोले सबै सकृयतापूर्वक लाग्न उहाँको आग्रह थियो ।

सांसद् प्रतिमा गौतमले सांस्कृतिक, धार्मिक र सामाजिक रुपमा नेपाल भारत सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । समृद्धिको प्रमुख औजार उद्योग भएको भन्दै उहाँले महिलाले घर परिवार पनि सम्हाल्नुपर्ने र घरायशी श्रमको मूल्यमा गणना नहुने अहिलेको समस्या भएको बताउनुभयो । थुप्रै सम्भावना भए तापनि हामीले उल्लेख्य काम गर्न नसकेको भन्दै उहाँले भन्नुभयो– ‘राज्यले महिलाहरुको सक्षमता बृद्धि गर्न थुप्रै काम गर्न बाँकी छ । घरेलु उद्योगहरुलाई विशेष सेवा सुविधा दिनु जरुरी छ । हाम्रा उत्पादनको दुवै देशमा निर्वाध बजार प्रवेशमा यस्ता कार्यक्रमहरु लाभदायी हुनेछन् ।’

कार्यक्रममा महिला उद्यमशिलताको क्षेत्रमा लामो समयदेखि क्रियाशील नेपाल र भारतका अग्रणी महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो । ग्लोबल इण्डिया मिशनका अध्यक्ष सुनिल कुमार सिंहले कार्यक्रममा ३५ भारतीय महिला उद्यमी सहभागी रहेको जानकारी दिंदै उहाँले भन्नुभयो ‘नेपाली महिला उद्यमीहरुको औद्योगिक अवलोकन भ्रमणमा हाम्रो पूर्ण सहयोग रहनेछ ।’ कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ, केन्द्रिय महिला समिति अध्यक्ष रोशनी उपाध्याय, नार्गाजुन नगरपालिका उपप्रमुख सुशीला अधिकारी, महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेललगायतले आफ्ना मन्तव्य राख्नुभएको थियो ।

 

प्रकाशित समय २१:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु