1100×100 Nabil Advert

मानव बेचबिखनविरुद्धको अभियानमा स्थानीय तहको चासो

बाँके। मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । प्रविधिको विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै स्थानीय सरकारले मानव बेचबिखनविरुद्ध कार्यरत संस्थाहरुसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नगरपालिका विगतदेखि नै सक्रिय भएर लागिरहेको जानकारी दिनुभयो । उहाँले मानव बेचबिखनविरुद्धको अभियान जिल्लास्तरको खाका बनाएर पालिकासँग सहकार्य गर्न जिल्लास्तरीय समितिलाई अनुरोध गर्नुभयो । “मानव बेचबिखन तथा ओेसारपसारका दृष्टिकोणले कोहलपुर पश्चिम नेपालको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा रहेकाले वडास्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ”, नगरप्रमुख आचार्यले भन्नुभयो, “जिल्लास्तरीय समितिले आर्थिक वर्षको योजना निर्माण गर्नुअघि नै सो खाकासहित आए मानव बेचबिखनविरुद्धको अभियानमा आवश्यक समन्वय र सहयोग गर्न कोहलपुर नगरपालिका प्रतिबद्ध छ ।”

बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले पालिकाले जिल्लामै पहिलो पालिकाका रुपमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण निर्देशिका निर्माण गरेर विगतदेखि नै कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारूले कुनै एक संस्था वा स्थानीय तहको प्रयासले मात्रै मानव बेचबिखन नियन्त्रण गर्न नसकिने भएकाले राज्यले नीति तथा कार्यक्रममा समेत यो मुद्दालाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

मानव बेचबिखनविरुद्ध गाउँ–गाउँमा विभिन्न गतिविधिमार्फत गाउँपालिकाले सचेतना जगाउने कार्यक्रम गरिरहेको जानकारी दिँदै उहाँले आगामी दिनमा अभियानलाई तीव्रता दिन आवश्यक सहकार्यका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले जिल्लाका स्थानीय तहले यो विषयलाई गम्भीरताका साथ लिएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडास्तरमा समेत संयन्त्र निर्माण गरेर टोल टोलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिन्भयो । जिल्लामा मानव बेचबिखन तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्नका लागि कुनै एक व्यक्ति तथा संस्थाले मात्रै कार्यक्रम गरेर सम्भव नभएकाले स्थानीय तहको प्रभावकारी भूमिका हुनुपर्ने उहाँको भनाइ छ ।

बाँकेमा केही स्थानीय तहले मात्रै कार्यविधि तथा निर्देशिका निर्माण गरेर पालिकास्तरीय नियन्त्रण समितिको गठन एवं कार्य सञ्चालन गरिरहेको जनाउँदै सबै पालिकामा यस्तो खालको संयन्त्र निर्माण गर्न आवश्यक रहेको कोइरालाले बताउनुभयो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले मानव बेचबिखन तथा ओसारपसार कार्य नियन्त्रणका लागि स्थानीय तह र सामाजिक सङ्घसंस्था सबैको समन्वय र प्रतिवद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित समय १५:०७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु