1100×100 Nabil Advert

घोराही उपमहानगरपालिका : ९३ विद्यालयमध्ये चौधमा महिला प्रअ

देउखुरी । घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ ।

शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उहाँले विसं २०७६ देखि प्रअको भूमिका निर्वाह गर्दै आउनुभएको छ । ‘शिक्षकमात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो भने प्रअ भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ ।’ उहाँले भन्नुभयो, ‘विद्यालयमा महिला प्रअ छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै ? बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो हेडसरभन्दा दङ्ग परेर हेर्छन् ।’ उपमहानगरपालिका भए पनि भौगोलिक हिसाबले विकट रहेकाले यस विद्यालयमा भौतिक संरचना र खानेपानीको अभाव रहेको उहाँले बताउनुभयो । बाटो सुविधा पनि राम्रो छैन वर्षात्मा बाढी आयो भने पहिरो खसेर बाटो बन्द हुन्छ ।

घोराही –१ मा रहेको प्राथमिक विद्यालय कर्मकोट सुनिताकुमारी घर्तीले प्रअको भूमिका निर्वाह गर्दै आउनुभएको छ । शिशु कक्षादेखि ५ सम्म रहेको विद्यालयमा ६० विद्यार्थीले अध्ययन गर्दछन् । ‘प्रअ हुँदा विद्यालयको प्रशासनिकदेखि सम्पूर्ण काम आफ्नो जिम्मेवारी रहेको छ’, उहाँले भन्नुभयो । कहिलेकाहीं शिक्षक अनुपस्थिति हुँदा अर्को शिक्षकाले कक्षा हेर्न गर्छौं। विद्यार्थी बाहिर चौरभरि छरिनुको सट्टा कक्षाकोठामा पुस्तक पढेर बस्ने गरेका छन् । विद्यालयमा खानेपानीको सुविधा नभएकाले समस्या हुने गरेको छ ।

सरस्वती माध्यामिक विद्यालय काठेकोलको प्रअ वसन्ता पौडेलले सम्हाल्नुभएको छ । प्राथमिक विद्यालय भैसाहीमा योगमाया अधिकारी, आधारभूत विद्यालय बाम्लामा टुककुमारी रावत, मदरसा दारुलहुदा अल्सफिदा आधारभूत विद्यालयमा ममता खत्री, प्राथमिक विद्यालय श्रीचौरमा यमुना केसी, नारायण प्राथमिक विद्यालय पश्चिम सेवारमा कर्मकुमारी चौधरी, रात्रि प्राथमिक विद्यालय शुक्रबारमा सुशीला पौडेल, रात्रि प्राथमिक विद्यालय बेलुवामा लक्ष्मी नकर्मी श्रेष्ठ, प्रावि सोरेठी रातामाटामा रुका घर्ती, सरस्वती प्राथमिक विद्यालय सुकाखोलामा माधवा पौडेलले प्रअको जिम्मेवारी सम्हाल्नुभभएको छ ।

महिलाले सम्हालेका विद्यालय जिल्ला रहेका सामुदायिक विद्यालयभन्दा कम नभएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले बताउनुभयो । महिला प्रअ भएका विद्यालयमा आर्थिक पारदर्शिता, सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले सामुदायिक विद्यालयमा महिलाको जिम्मेवारी प्रत्येक वर्ष बढाउँदै लगिने जानकारी दिनुभयो । सुरुमा सीमित महिला शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको थियो । उहाँहरूले राम्रो काम गरेको देखेर अहिले १४ जनालाई प्रअको जिम्मेवारी दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिला शिक्षकले राम्रोसँग विद्यालय सञ्चालन गर्नुभएको छ, धेरै खुसी लागेको छ ।’

प्रकाशित समय १०:१७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु