पाँच केजी नुन किन्न ५ हजार खर्च ?
मुगु । देशको राजधानी काठमाडौंमा अहिले सुनको चर्चा छ । तर दूरदराजको मुगुमा भने चर्चा नुनको छ । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सयदेखि ५ हजार रुपैयाँसम्म खर्च गर्नु पर्ने अवस्था आएपछि दुर्गममा सिंहदरबार व्यवहारमा पुग्न नसकेको नुनकै अभावले पुष्टि गरेको छ ।
नुन लिन नागरिकताको फोटोकपी बुझाउनु पर्ने
मुगु जिल्लामा रहेको एक नगरपालिका र ३ गाउँपालिकालाई लक्षित गरी आर्थिक बर्ष २०७९/०८० का लागि ३ हजार ३ सय ९० क्वीन्टल नुन जिल्लामा आए पनि हिजो आज नुनको अभाव हुन थालेको छ । हप्ताको ३ दिन नुन कार्यालय खुल्ला गरी सोरु र खत्याडको प्रशासनको सिफारिसमा स्थानीय नागरिकलाई नागरिकताको फोटोकफी र हातको नङ्गमा रेजा लगाएर प्रतिब्यक्ति ५ केजी नुन दिने गरिएको छ । अनुदानको सरकारी नुन खान नपाएको ५/६ बर्ष भएको र नजिकको स्थानीय बजारमा सरकारी अनुदानको ९ रुपैयाँले पाउने १ केजी नुन ६० देखि ८० रुपैयाँसम्म तिरेर खानु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
३ दिन लगाएर गाउँबाट आउँदा नुन महंगो बन्यो
मुगम कामारोङ्ग गाउँपालिका ५ मुगुकी सोनामफुटी लामा २/३ दिन लगाएर ५ केजी नुन लिन सदरमुकाम गमगढी आवतजावत गर्दा गाडी भाडा र खान ५ हजार भन्दा बढी खर्च हुने गरेको दुखेसो पोख्छिन् । सिंहदरबारको अधिकार गाउँ गाउँ आयो भनेर प्रचार गरिएको छ तर उनी भने कहाँ आयो भन्दै गाउँमा आएको सिंहदरबार देखाइदिन आग्रह गर्छिन् ।
५ केजी नुन पशु चौपायालाई खुवाउनु कि आफु खानु
नुनको अभावको गुनासो गर्दै छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ बस्ने बिसुकला रावत भन्छिन् ‘नुन लिन आउँदा १५÷१६ सय रुपैयाँ खर्च हुन्छ, ५ के.जी नुन पाइयो, घरमा गाईगोरु, भेडा, बाख्रा, भैसी छन् । आफू खाने कि पशु चौपायालाई खुवाउने ? ५ पोका नुन लिनको लागि पनि नागरिकताको फोटोकपी गर्न १० रुपैयाँ तिरियो, हातको नङमा चिन्ह समेत लगाउँदा रहेछन्, दुःख बढी नुन कम पाइयो ।’ 
अनुदानको नुन सस्तो हुँदा जिल्ला बाहिर गएको हुन सक्ने आशंका
सोरु र खत्याड गाउँपालिकालाई १/१ हजार क्वीन्टल नुन वितरण गरिसकेको र छायाँनाथ रारा नगरपालिका र मुगम कामारोङ्ग गाउँपालिकालाई १ हजार ३ सय ९० क्वीन्टल नुन वितरण भइसकेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा बताउँछन् । अनुदानमा आएको नुन प्रति केजी ९ रुपैयाँ पर्दा सस्तो भएको हँुदा सबैको भीड सदरमुकाम हुने र बाहिरी जिल्ला बाँके र सुर्खेतसम्म जाने गुनासो आएपछि प्रहरीमार्फत चेकजाँच र निगरानी समेत बढाएको प्रजिअ थापाले बताए । तर मुगुमा नुनको अभाव भने नरहेको पनि उनको भनाइ थियो ।
यता जिल्ला साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले मुगुमा अहिले ३ सय ५० क्वीन्टल नुन मौज्दात रहेको बतायो । मुगु जिल्लामा नुनको अभाव प्रत्येक बर्ष हुने गरेको छ । जिल्लामा रहेका राजनीतिक दल, जनप्रतिनिधि र जिल्लामा रहेका सरोकारवालाहरुको केन्द्रमा पहुँच नहुँदा हरेक बर्ष मुगु लगायत कर्णालीका सबै जिल्लामा नुन अभाव हुने गरेको छ ।
प्रकाशित समय १४:५८ बजे




















