1100×100 Nabil Advert

योजनाको भूमिका के छ भन्ने कुराको गहिरो समीक्षा आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले देशको समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण हुनु पर्ने बताएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सोह्रौँ योजनाको अवधारणा तर्जुमा गर्न आयोजित राष्ट्रिय योजना आयोगको बैठकलाई दिशानिर्देश गर्दै प्रधानमन्त्रीले अहिलेसम्मका योजनाको समीक्षा गर्नुपर्ने आवश्यकता औल्याए । देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा अहिलेसम्मका योजनाको भूमिका के छ भन्ने कुराको गहिरो समीक्षा आवश्यक रहेको उनको भनाई छ ।

नीति तथा कार्यक्रम र बजेट निर्माणमा समेत व्यापक रूपान्तरण जरूरी रहेकोमा जोड दिएका प्रधानमन्त्री प्रचण्डले भने ‘कार्यक्रम र बजेट निर्माणको हाम्रो संस्थागत, संरचनागत र कार्यशैलीगत रूपान्तरण जरूरी छ । नीति तथा कार्यक्रम र बजेट निर्माणको बीचमा एकदमै छोटो समय हुने, त्यसले गर्दा नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता नहुने समस्या हामीकहाँ छ, यसलाई बदल्नुपर्छ । नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित भइसकेपछि त्यसमाथि व्यापक छलफल गरेपछि मात्रै बजेट निर्माणको काम थाल्नुपर्दछ । हतार हतारमा बजेट बनाउँदा नीति तथा कार्यक्रम एकाथरी बजेट अर्कोथरी बन्ने समस्याबाट हामी ग्रसित छौँ । त्यसैले यसलाई समेत सम्बोधन गर्नेगरी योजना बनाउनुस् ।’

बजेट तयार भएपनि संसदमा गर्ने छलफलबारे सवाल उठेको भन्दै प्रचण्डले राज्यले सबै प्रकारका नीति वा योजना प्रस्ताव गर्दा बाहिरको ज्ञान र विवेक उपयोग गर्नेगरी सोच्न आवश्यक रहेको बताए । बैठकले सोह्रौँ योजनाको अवधारणा स्वीकृत गर्दै उक्त अवधारणालाई बृहत रूपमा प्रक्रियामा लैजाने निर्णय गरेको छ । अवधारणामा सोह्रौँ योजनाको आवश्यकता, सोह्रौँ योजना तर्जुमाका आधारहरू, दीर्घकालीन सोच २१००, पन्ध्रौं योजनाको लक्ष्य र कार्यान्वयनको अवस्था, समष्टिगत आर्थिक परिसूचकको प्रगति समीक्षा, सोह्रौँ योजनाको कार्यदिशा, समष्टिगत रणनीति, संरचनागत रूपान्तरणका क्षेत्र लगायतका विषय समावेश छन् ।

प्रकाशित समय १४:३३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु