1100×100 Nabil Advert

गोयल बने नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्ष

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा अनुराग गोयल चयन हुनुभएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२३/२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । मञ्चको विहिबार काठमाडौंमा भएको वार्षिक साधारण सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढिकरणमा उद्यमीहरुको महत्वपूर्ण भूमिमा रहेको बताउनुभयो । स्थापित युवा उद्यमीहरुलाई उद्यम बन्ने नविनतम् सोंच राखेका युवाहरुसँग सहकार्य गर्दै अगाडि बढाउन आग्रह पनि गर्नुभयो । मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि आफूले सक्दो प्रयास गरिरहेको बताउनुहुँदै उहाँले अर्थतन्त्र सुधारका पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एमिरेट्स विनोद चौधरीले नयाँ सोंच, योजना, लक्ष्य लिएर अगाडि बढेका युवाहरुलाई थोरै मात्र भएपनि प्रोत्साहन गर्दा उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान हुने बताउनुभयो । उहाँले उद्यमशीलताका माध्यमबाटै देशको आर्थिक विकास हुने भएकाले युवाहरुलाई प्रोत्साहन गर्ने नीति लिन आग्रह गर्नुभयो ।
यसैगरी परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण, प्रोत्साहनको आवश्यकता रहेको बताउनुभयो । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन गरिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

परिसंघका उपाध्यक्ष एवं मञ्चका कन्भेनियर रोहित गुप्ताले मञ्चले उद्यमशीलता विकास, स्टार्टअपको प्रबद्र्धनमा केन्द्रित रहेर काम गर्दै आएको बताउनुभयो । उहाँले राज्यले नवप्रवर्तन, युवा उद्यमीहरुलाई सहजिकरण गरिदिने हो भने देशमा केही गरौं भनेर लागेका युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष अनुराग गोयल गु्रपका प्रबन्धक निर्देशक हुनुहुन्छ । उहाँ उत्पादनमुलक उद्योग, बैंक, फाइनान्स तथा इन्स्योरेन्स, रियल स्टेट, खानी, जलविद्युत्लगायतका क्षेत्रमा संलग्न हुनुुहुन्छ । गोयलले भारतस्थित सिम्बायोसिस इन्टरनेशनल यूनिभरसिटीबाट फाइनान्समा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ ।

सन् २०२२/२०२३ को अध्यक्ष प्राशी अग्रवाल हुनुहुन्थ्यो । गोयलको कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेशन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), सकेत संघाई (फाइनान्स चेयर), निदा दुन मल्न (कम्यूनिकेशन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को–चेयर) निर्वाचित हुनुभएको छ ।
स्टार्ट–अप र युवाहरुलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने अध्यक्ष गोयलले बताउनुभयो । उहाँले युवा उद्यमीहरुलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णु कुमार अग्रवाल हुनुहुन्थ्यो । अग्रवाल नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।

प्रकाशित समय १७:३२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु