महोत्तरीमा सेवा चुस्त बनाउन गृहमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेश, महोत्तरीका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्ति–सुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिएका छन् ।
बिहिवार उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज अनुचित लेनदेन पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिए । उनले भने, ‘मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धि कानून सकभर आज नै राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा जाने छ । एकातिर कानून छ, एकातिर आयोग छ, एकातिर तपाईंहरू हुनुहुन्छ । सकेसम्म अहिलेनै आवश्यक समन्वय गरेर पीडितलाई न्याय दिनुहोस् ।’
गृहमन्त्री श्रेष्ठले नेपाल–भारत सीमामा हुने सामान ओसार–पसारमा राज्यलाई नोक्सान पु¥याउने वा अवैध ओसार–पसार गर्ने कामलाई कडाईका साथ नियन्त्रण गर्न तर वास्तवमै जनताको दैनिक आवश्यकता र व्यापारीक उद्देश्य के हो त्यसलाई दुई पाटोबाट हेर्न पनि निर्देशन दिएका छन् ।
उनले भने, ‘दैनिक व्यवहारिक आवश्यकता टार्न सामान ल्याउने कुरामा लचक हुनुहोस् र व्यापारीक प्रयोजनमा ल्याएको भए कडाई गर्नुहोस् ।’
प्रकाशित समय १७:५७ बजे




















