राजर्षिजनक विश्वविद्यालयको उपकूलपतिमा यादव
काठमाडौं । राजर्षिजनक विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा.अमरप्रसाद यादव नियुक्त भएका छन् । सिफारिश समितिले गरेको सिफारिशका आधारमा विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादवलाई उपकूलपति नियुक्त गरेका हुन् । खुला प्रतिष्पर्धाबाट उपकूलपति नियुक्ति गर्नका लागि राष्ट्रिय योजना आयोगका सदस्य–हाल कार्यबाहक उपाध्यक्ष) डा.रामकुमार फुयाँलको संयोजकत्वमा सिफारिश समिति गठन गरिएको थियो । समितिमा खुला विश्व विद्यालयकी उपकूलपति प्रा.डा. शिलु मानन्धर र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य थिए ।
विश्व विद्यालयको उपकूलपति नियुक्तिमा पहिलो पटक स्वच्छ प्रतिष्पर्धा गराएर हाम्रो नभई राम्रो मान्छे नियुक्त गरिएको सिफारिश समितिका संयोजक डा. फुयाँलले बताए । उनका अनुसार उपकूलपतिका लागि १८ जनाको आवेदन परेको थियो । प्राप्त आवेदनमध्ये २ जनाको आवेदन रद्द गरिएको थियो भने १६ जनाको नाम पहिलो चरणमा छनोट गरिएको थियो ।
१६ जनामा पनि प्रस्तुति गराएर ६ जनाको नाम सर्ट लिस्ट गरिएको थियो । दोस्रो पटकको छनोटमा ६ जनाबाट ३ जनाको नाम गत २६ गते बुधबार कूलपति तथा प्रधानमन्त्री दाहालसमक्ष सिफारिश गरिएको थियो । सिफारिशको पहिलो नम्बरमा रहेका यादवलाई प्रधानमन्त्रीले उपकूलपति नियुक्त गरेका हुन् ।
प्रकाशित समय १८:३२ बजे




















