1100×100 Nabil Advert

सरकारको नीति तथा कार्यक्रममै अस्पष्टता छ : डा.चन्द्रमणि अधिकारी

काठमाडौं । अर्थविद् डा.चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रममै अस्पष्ट भएको बताएका छन् । आज राजधानीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । डा. अधिकारीले सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमका बारेमा टिप्पणी गर्दै नेपालको माटो सुहाउँदो नभएको र यसले तत्कालीन समस्यालाई समेत सम्बोधन गर्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले सरकारले अघिल्ला बुँदाहरुमा सबै क्षेत्रमा सकारात्मकता देखाए पनि पछिल्ला बुँदामा मूल्यवृद्धि, खर्चलगायतका विषयमा समस्या देखाएको बताए । ‘नीति तथा कार्यक्रम नियमितढंगले आएको देखियो । यसको बुँदा नम्बर ५ र ६ ले के भन्छ भने उपलब्धिहरु सबै क्षेत्रमा सकारात्मक भएका छन्, परिसूचकहरु सकारात्मक भएका छन् र अर्थतन्त्र स्वभाविक लयमा फर्कंदैछ भनेर भनेपछि त अब हामीसँग समस्या नै छैन, चिन्ता गर्नुपर्ने केही छैन भन्ने देखियो । फेरि अर्को बुँदामा मूल्यबृद्धिको पनि चाप छ, खर्च पनि हुन सकेको छैन भनेर भनेको छ । दस्तावेजभित्रै स्पष्टताको अभाव छ,’ उनले भने ।

पहाडका कतिपय ठाउँमा खानेपानीको अभावमा बसाईं–सराईको अवस्था सिर्जना भइरहेको अवस्थामा सरकारले त्यतातिर ध्यान दिन नसकेको उनको टिप्पणी छ । अर्थतन्त्र सुधारका र विकासका लागि राज्यका तीनवटा साझेदारी क्षेत्रबीच समन्वयको आवश्यकता भए पनि अहिलेको नीति तथा कार्यक्रमले यसलाई सम्बोधन गर्न नसकेको उनको भनाई छ ।

‘राज्यका तीनवटा साझेदारी क्षेत्र नीजि, सहकारी र सार्वजनिक क्षेत्रबीच समन्वय छैन । कसको भूमिका कुन क्षेत्रमा हुने ? उत्पादनमा, आय–आर्जनमा, वितरणमा, सामाजिक काममा र पूर्वाधार निर्माणमा कसको कुन क्षेत्रमा के भूमिका हुने ? उचित समन्वय हुनुपर्ने आवश्यकता छ । डकुमेन्ट्समा गर्छौं चाहीं भनिएको छ, तर न खर्च कटौतीमा उहाँहरु अगाडि बढ्नुभएको छ ? आफ्नै सुविधाहरु कटौती गर्नुपर्‍यो । सल्लाहकारहरु कटौती गर्नुपर्‍यो । त्यहाँबाट मितव्ययिता शुरु गर्नुपर्‍यो’ उनले भने ।

 

प्रकाशित समय २०:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु