सलिकोद्वारा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरू स्वयं उपस्थित रहेका थिए र उनीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रत्यक्षरूपमा हस्तान्तरण गरिएको थियो ।

 

सो अवसरमा आचार्यले शिक्षा नै समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताउनुभयो । साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा रोटरी क्लब अफ हिमालयन गल्फर्सका पदाधिकारी, नेत्रहीन महिला संघ नेपालका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अध्ययन सामग्री प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यसले उनीहरूको अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको समग्र विकासलाई प्राथमिकतामा राखी विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित समय २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु