व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका-५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ ।
किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ ।
‘हाम्रो वडामा किवीखेतीको राम्रो सम्भावना छ’, वडाध्यक्ष राईले भन्नुभयो, ‘किसानको रुचि पनि यसतर्फ बढ्दो छ । किवीका माध्यमबाट किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यसहित खेती विस्तारमा जोड दिएका छौँ ।’
किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको छ । यहाँको हावापानी किवीखेतीका लागि अनुकूल भएकाले किसानलाई व्यावसायिक रूपमा खेती विस्तार गर्न प्रोत्साहन गरिएको हो ।
वडाको सहयोग पाएपछि यहाँका अधिकांश किसान व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएको स्थानीय भीमसेन राई बताउनुहुन्छ । ‘एकपटक विस्तार गरेपछि सामान्य हेरचाहमै वर्षौँसम्म आम्दानी लिन सकिने भएकाले किसान यसतर्फ आकर्षित भएका हौँ’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार अहिले आफ्नै १० रोपनी जमिनमा करिब १५० बोट किवीखेती विस्तार गरिएको छ । राम्रो फलेको एक बोटबाट नौ हजार रुपैयाँसम्म आम्दानी लिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, अर्का किसान तेजन विष्टले पनि वडाबाट बिरुवा र प्राविधिक सहयोग पाएपछि किवीखेतीमा उत्साह थपिएको बताउनुभयो । परम्परागत बालीको तुलनामा किवीबाट राम्रो आम्दानी लिन सकिने भएकाले आफूहरू यसतर्फ लागेका उहाँको भनाइ छ । हाल ५० बोट खेती विस्तार गरेको उहाँले बताउनुभयो ।
हाल वडाका मझौले, खावा, रमितेलगायतका क्षेत्रमा किवीखेती विस्तार हुँदै गएको छ । वडाको पहल र किसानको सक्रियतासँगै यस क्षेत्र किवी उत्पादनको सम्भावित केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय किसानको भनाइ छ ।
प्रकाशित समय ०८:४७ बजे





















