एनआईसी एशिया बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्थाअन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठन-पाठनमा सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले झोला तथा अन्य शैक्षिक सामाग्रीहरु उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।
बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रुपमा विशेष क्षमता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । साथै, विगतका वर्षहरुमा पनि यस बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।
शान्ति सेवा गृह, काठमाडौंमा रहेका यी विद्यार्थीहरुलाई गरिएको शैक्षिक सामग्री सहयोगले उहाँहरुको शैक्षिक गुणस्तर बढ्नुको साथ आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जनाएका छन् ।
प्रकाशित समय २१:५० बजे





















