खोटाङमा सबैले रुचाइएको उम्मेदवार बन्दै हरि रोका
खोटाङ । हरि रोका एकदमै परिचित नाम हो । प्रजातन्त्र पुनर्स्थापनाको लागि साढे सात वर्ष जेल जीवन बिताउनुभएका रोका एक निडर र प्रसिद्ध व्यक्ति हुनुहुन्छ । बौद्धिक व्यक्तित्व र अर्थ विश्लेषकका रूपमा चिनिएका रोका पछिल्लो समय खेती-किसानीलाई प्राथमिकता दिनुपर्छ भनेर गाउँमै बस्दै आउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधिसभाको फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार बन्नुभएका रोका यसपटक खोटाङको सबैभन्दा सशक्त उम्मेदवार भएको नेकपाका एक स्थानीय नेताले बताए । उनले भने- ‘हरि रोका जतिको व्यक्तित्व खासमा नेकपाबाट चुनावमा उठ्नुभए पनि सबै खोटाङेको साझा उम्मेदवार बन्नुपर्छ भन्ने हाम्रो पनि भनाई हो । उहाँ वामपन्थी राजनीतिमा लामो इतिहास बोकेको व्यक्ति हो ।’
जीवन भट्टराई भन्छन्- ‘इमानदारी, स्पष्ट विचार, जनताप्रतिको गहिरो प्रतिबद्धता र सक्षम नेतृत्वका कारण यो निर्वाचनमा रोका नै जनताको भरोसायोग्य उम्मेदवार हुनुहुन्छ भन्ने विश्वास हामी सबैलाई छ । यो निर्वाचन केवल सिट जित्ने प्रतिस्पर्धा मात्र होइन, जनताको अधिकार, सुशासन र समृद्ध भविष्यको लडाइँ हो । जनताको आवाजलाई प्रतिनिधिसभामा निर्भिकरूपमा उठाउने, अन्याय र विसंगतिका विरुद्ध डटेर उभिने नेतृत्वको रूपमा हरि रोका सफल हुनुहुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।’
एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा रोकासहित १३ जनाको उम्मेदवारी परेको छ । जसमा दुई जना स्वतन्त्र र ११ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि रहेका छन् । जिल्लामा मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका ठूला दलहरूमध्ये नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा एमाले बाट देवविक्रम राईले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित समय २१:५९ बजे


















