कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । कामना सेवा विकास बैंकले माघे संक्रान्तीको अवसरमा धार्मिक तथा पर्यटन गन्तव्य देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा स्तन क्यान्सर सचेतना, रक्तचाप जाँच तथा मधुमेह परीक्षण गरिने व्यवस्था मिलाइएको थियो । भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमार्फत ३०० भन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराएका थिए ।
बैंकका अनुसार शिविर सञ्चालनको उद्देश्य समुदायका व्यक्तिहरूमा प्रारम्भिक स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा रोग रोकथाममा योगदान पुर्याउने रहेको थियो । स्वास्थ्य परीक्षण तथा परामर्श बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा.अनिल बाबु रेग्मी, भरतपुर अस्पतालका डा.इन्द्र पण्डित तथा डा.सुशान्त लामिछानेले प्रदान गरेका थिए ।
नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले यस्ता कार्यक्रमले स्थानीय स्वास्थ्य स्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित समय १४:३५ बजे





















