1100×100 Nabil Advert

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङको बडिगाड गाउँपालिका-७ गावाका लोकबहादुर केसीले करिब छ वर्ष मलेसियामा बिताउनुभएको थियो । त्यहाँ दुःख बढी र सोचेअनुसार कमाई नभएपछि उहाँ गाउँ फर्किनुभयो । त्यसपछि गाउँमै सुरु गर्नुभयो, मौरिपालन व्यवसाय । अचेल विदेशको दुःख बिर्सेर आफ्नै पाखापखेरामा मौरीसँगै रमाइरहेको उहाँले सुनाउनुभयो ।

 

केसी बिहान उठेदेखि साँझसम्म मौरीका घार सफा गर्ने, हूल छुटेर भागेका मौरीलाई पुनः घारमा ल्याउने र बिरामी भए-नभएको हेरचाह गर्नमा व्यस्त हुनुहुन्छ । एउटा घारबाट सुरु गरेको मौरीपालन हाल ६५ घारमा पुर्‍याउनुभएको छ । ३७ वर्षीय केसीका दौँतरी कोही पनि गाउँमा भेटिँदैनन् । कोही जापान, कोही कतार त कोही मलेसियामा छन् । केसीले गाउँमै बसेर हाल परदेशमा भएका साथीभाइले जत्तिकै कमाई गर्न गाह्रो नभएको बताउनुभयो ।

 

उहाँले विसं २०७६ मा एउटा घारबाट सुरु व्यवसाय सुरु गर्नुभएको थियो । केसीलाई सुरुमा स्थानीय बडिगाड गाउँपालिकाले रु आठ हजारको मौरीघार उपलब्ध गराएको थियो । त्यसपछि थप्दै थप्दै आफूले रु १२ लाखभन्दा बढी लगानी गरिसकेको उहाँले जानकारी दिनुभयो । केसीले भन्नुभयो, ‘देश, विदेश देखियो, जहाँ गएर पनि पैसा कमाउन दुःख गर्नुपर्ने रहेछ । मैले छ वर्ष मलेसियामा काम गरेँ, अहिले त्यहाँ श्रम खर्चेकोमा पछुताएको छु, त्यो समय यहीँ केही गरेको भए धेरै प्रगति भइसक्थ्यो । विदेशले पनि केही कुरा त सिकायो नै, अब गाउँमै केही गर्छु, भन्ने सोच छ । मौरीपालन पनि राम्रो हुँदै गएको छ, अझै बढाउने योजनामा छु ।’

 

केसीले वार्षिक रु २२ लाखको मह र मौरीघार बिक्री गर्दै आएको बताउनुभयो । एउटा घार रु १० हजार र प्रतिकिलो मह रु एक हजारमा बिक्री हुने गरेको र महको बजार राम्रो हुँदा मागअनुसार पु¥याउन नसकिएको उहाँको भनाइ छ । केसीले उत्पादन गरेको मह हाल बागलुङ, कुश्मा, पोखरा, रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने गरेको छ । नेपालसँगै अमेरिका, साउदी, कतार र जापानसम्म आफूले मह निर्यात गर्ने गरेको उहाँले बताउनुभयो । ‘गाउँमा धेरै सम्भावना छन्, ती सम्भावनालाई हामीले सदुपयोग गर्न सकियो भने आत्मनिर्भर बन्न सकिन्छ । म पनि विभिन्न कारणले विदेश गएको थिएँ, तर त्यहाँ गएपछि बल्ल गाउँठाउँको महत्व बुझेँ’, केसीले भन्नुभयो, ‘अहिले जे गरिरहेको छु, त्यो पहिलेदेखि नै गर्नुपर्थ्यो, विदेश जानुभन्दा यही लगानी गरेर उद्यम गर्न सकियो भने स्वाभिमानका साथ बस्न सकिँदो रहेछ भन्ने बुझेँ, अरु युवाले पनि बुझ्नुपर्छ भन्ने लागिरहेको छ ।’ हाल उहाँले यही व्यवसायबाट १४ जनाको परिवार धान्दै आउनुभएको छ ।

प्रकाशित समय ०८:५८ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु