नाइमाले गर्यो साधारणसभामै आगामी एक्स्पोबारेको निर्णय
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष श्रीमति रितु सिंह वैद्यको अध्यक्षतामा भएको पहिलो वार्षिक साधारण सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धी र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमा नाइमा देशको मोबिलिटी क्षेत्रको एकिकृत र सशक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताउनुभयो । उहाँले बिगत नौ महिनामा हासिल उपलब्धीहरु प्रस्तुत गर्दै पहिलो ‘नाइमा नेपाल मोबोलिटी एक्स्पो २०२५’ को सफल आयोजनाले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरुलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर संञ्चालन गरिनुले संस्थाको भुमिकालाई अझ बृहत्तर र विश्वसनीय बनाएको बताउनु भयो ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन र आगामी वर्षको कार्यकम तथा वित्तिय योजना प्रस्तुत गर्दै संस्थाको दीर्घकालिन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तिय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहोर्याउनुभयो । सदस्यहरुले नाइमाले सकृय र प्रभावकारी रुपमा गरिरहेको काम प्रति प्रशंसा व्यक्त गर्दै आपत्कालिन अवस्थामा राज्यका निकायहरुलाई सहयोग गर्न पाउँदा आफूहरु गौरवान्वित भएको वताउनु भयो ।
यसैगरी सभाले २०८२/८३ का कार्यकम पारित गर्यो, जसमा नियमित मोबिलिटी सम्बाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत वहस पैरवी, नाइमा नेपाल मोबिलिटी एक्स्पो २२६ को आयोजना लगायतका विषयहरु सामेल छन् । नाइमाले आगामी मोलिबटी एक्स्पो २०८३ श्रावण २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरेको छ ।
सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य श्री आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ । सम्भावित र योग्य व्राण्डहरुलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित सम्बाद जारी राख्ने प्रतिबद्धता साधारणसभामा व्यक्त गरिएको छ । सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरुलाई धन्यवाद दिदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालिन उन्नतिका लागि नाइमाले सक्रिय भूमिका खेलिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित समय १२:२५ बजे





















