1100×100 Nabil Advert

मानव अधिकार, हामी सबैकाे अपरिहार्य आधार

वास्तवमा मानव अधिकारले मानिसलाई आत्मसम्मानपूर्वक बाँच्न पाउने मानिसको नैसर्गिक हकको संरक्षण गर्दछ । र मानव अधिकार मानिसलाई मानिस भएकै कारण प्राकृतिकरूपमा प्राप्त हुन्छ । मानव अधिकारलाई जन्मसिद्ध अधिकार वा नैसर्गिक अधिकार पनि भनिन्छ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस “मानव अधिकार, हामी सबैकाे अपरिहार्य आधार” भन्ने मूल नारा सहित मनाइँदैछ । यस विषयवस्तुमा मानव अधिकारका आधारभूत मूल्यहरूमाथि पुनः जोड दिँदै मानिसहरूलाई हरेक दिनका क्रियाकलाप तथा आवश्यकतामा मानव अधिकार कसरी जोडिएको छ भन्नेबारे सचेत बनाउने उद्देश्य राखिएको छ। हरेक वर्ष १० डिसेम्बरको दिन मनाइने मानवअधिकार दिवसले हरेक व्यक्तिको मर्यादाको संरक्षण गर्न हामी सबैलाई स्मरण गराउँदछ।हाम्रो दायित्व प्रति सचेत गराउँदछ।

 

सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।यसैदिन सार्वभौमिक मानव अधिकार घोषणापत्र अपनाइएको सम्झनामा यो दिवस संसारभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र, मानव अधिकारवादीहरू, सामाजिक अभियन्ता, विद्यार्थी तथा समुदायले देशव्यापी सचेतना कार्यक्रम, र्‍याली, छलफल र प्रशिक्षण कार्यक्रम आयोजना गरि मनाउने प्रचलन छ।

 

स्मरण रहोस विश्वमै सर्वाधिक अनुवाद भएका दस्तावेजमध्ये एक मानिने मानव अधिकारको सार्वभौमिक घोषणा आजका दिन ५०० भन्दा बढी भाषामा उपलब्ध छ। मानव अधिकार दिवस मनाउनुको उद्देश्य संसारका सबै मानिसले सुरक्षाको प्रत्याभूति गरून् र भेदभावरहित, स्वतन्त्रतापूर्ण जीवन जिऊन सकून् भन्ने नै प्रमुख हो । मानव अधिकारमा स्वास्थ्य, आर्थिक समाजिक, शिक्षाको अधिकार पनि पर्छन् ।

 

मानवअधिकार सम्बन्धि घोषणा पत्रले हरेक मानवका लागि स्पष्ट अधिकारहरू तय गरेको छ । यी अधिकार सबै व्यक्तिमा लागू हुन्छन् । कुनै पनि समूह वा व्यक्तिलाई यसबाट बाहिर राख्न सम्भव छैन।उसलाई बन्चित गर्न सम्भव छैन । घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । हामी सबैले यसको पालना गरेको खण्डमा यी अधिकारहरूको प्रभाव दैनिक जीवनमा सहजै देख्न सक्छौं ।मानवअधिकारको सिद्धान्त अनुसार हामी सबै (प्रत्येक मानव) आफ्नो बोल्ने हकमा स्वतन्त्र छौं । हामी सबै आफ्नो शिक्षाको अधिकारमा पुर्णतः स्वतन्त्र छौं । अझ यो त हाम्रो मौलिक र नैसर्गिक अधिकार भित्र नै पर्दछ । यसैगरी हामी र प्रत्येक मानव आफ्नो सुरक्षाको अधिकारमा स्वतन्त्र छ । यी अधिकारहरू लाई आत्मसात गर्न सकेको अवस्थामा यसले समाजमा उदाहरणीय न्याय र समानता सृजना गर्दछ ।

 

हामी सबैले सरल कार्यहरूबाट मानव अधिकारको समर्थन गर्न सक्छौ भन्ने कुरा बिर्सनु हुँदैन । मानवअधिकारको रक्षाका खातिर हामी अन्यायको विरोध गर्न स्वतन्त्र छौं । मानवअधिकारको अनुसरण गर्दै हामीले फरक विचार र भिन्नताहरूको सम्मान गर्न सक्नु हाम्रो दायित्व भित्र पर्दछ। यसैमाध्यम बाट अरुलाई न्यायपूर्ण व्यवहार गर्न मार्गदर्शन गर्न सक्छौँ । आफ्नो अधिकारको उपयोगको खातिर नेतृत्वबाट जवाफदेहिताको माग गर्न सक्छौं । मानवअधिकार संग सम्बन्धित कार्यको पालनाले सम्मानित एवं बलियो र हार्दिकताले भरिएको सभ्य समुदाय निर्माण गर्न ठूलो सहयोग पुग्दछ ।

 

वैश्विक प्रतिवेदनहरूको तथ्यांकले मानव अधिकारको संरक्षण र सामाजिक स्थायित्वबीच प्रत्यक्ष सम्बन्ध देखाउँछ । जहाँ बलियो अधिकार संरचना हुन्छ, त्यहाँ द्वन्द्व कम देखिन्छ । त्यस्ता देशहरूमा आर्थिक प्रदर्शन राम्रो हुन्छ । संस्थाहरूप्रति जनविश्वास उच्च हुन्छ । यी परिणामहरूले मानव अधिकारको महत्व प्रमाणित गर्दछन । जब हामी मानिसहरूसँग सम्मानपूर्वक व्यवहार गर्छौं, तब मात्रै मानव अधिकार बलियो बन्छ । कमजोरहरूको संरक्षण गर्दा तिनीहरू थप बलिया हुन्छन् । त्यसैगरी आफैं बोल्न नसक्नेहरूको लागि आवाज उठाउँदा मानव अधिकार सुदृढ हुन्छ ।

 

मानवअधिकार दिवस कुनै उत्सव मात्रै होइन, यो एउटा महत्त्वपूर्ण जिम्मेवारी हो । यसले हामीलाई इमानदार भएर काम गर्ने तर्फ आग्रह र आव्हान गर्दछ । यसले हामीलाई आफ्नो घर, कार्यस्थल र समाजमा न्याय स्थापना गर्न प्रेरित गर्छ। हाम्रा कार्यहरूले हरेक व्यक्ति मर्यादासहित बस्न पाउने संसार निर्माण गर्न ठुलो मद्दत पुर्याउँदछ। आज मनाइंदै गरेको ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा मानव अधिकारकाे विश्वव्यापी घाेषणापत्र जारी भएकाे ऐतिहासिक दिन “मानव अधिकार, हामी सबैकाे अपरिहार्य आधार” भन्ने राष्ट्रिय मूल नारा सहित पृथ्वीका सम्पूर्ण मानवहरूप्रति हार्दिक शुभकामना ।

प्रकाशित समय १७:३१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु