स्थानीयहरुको समस्या समाधान गर्न पैदल यात्रा गर्दै नाकासम्म पुगिन् प्रजिअ थपलिया
सङ्खुवासभा । किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला सुरक्षित गर्ने काम सम्पन्न भएको छ । किमाथाङ्का भन्सार कार्यालयको नाम किमाथाङ्का भए पनि हाल खाँदबारीमा नै अवस्थित रहेको छ । कार्यालयले यस आर्थिक वर्षमा भन्सारसम्बन्धी कार्य नगरेको बताइएको छ ।
भन्सार कार्यालय भन्सार नाकामा नै व्यवस्थित गर्न जग्गा नापजाँच र चारकिल्ला सुरक्षित गराइएको हो । यसले गर्दा आगामी दिनमा अन्य संरचना निर्माणको सुरुआत सहज हुनेछ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित जिल्लाका विभिन्न कार्यालयका प्रमुख सहित प्रतिनिधि सम्लग्न टोलीले किमाथाङ्का क्षेत्रको निरीक्षण गरेको थियो । किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गा नापजाँच र चारकिल्ला सुरक्षित गर्ने काम सम्पन्न गरेको प्रजिअ थपलियाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली सहितको सो टोलीले हालै किमाथाङ्कास्थित बिओपी एवं नेपाल-चीन सीमास्तम्भको निरीक्षण गरेको थियो । असहज भूगोल र सीमित स्रोतका बीच स्थानीयवासीसँगको समन्वय र सहकार्यमा किमाथाङ्कास्थित सशस्त्र प्रहरी बल, सीमा सुरक्षा पोष्ट (बिओपी)ले उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
यसक्रममा सो टोलीले चीनतर्फका समकक्षीसँग सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण, स्थानीय बासिन्दाको सहज आवतजावत, विपद् व्यवस्थापनका सम्बन्धमा सूचना आदनप्रदान समन्वय र सहकार्यका विषयमा अनौपचारिक छलफलसमेत गरेको थियो ।
प्रजिअ थपलियाका अनुसार स्थानीय बासिन्दा र जिल्लामा उपलब्ध तथ्याङ्कअनुसार हालसम्म किमाथाङ्का क्षेत्रमा नेपालतर्फ चिनियाँ पक्षलाई निमन्त्रण गरेर औपचारिक वा अनौपचारिक वार्ता-छलफल भएको छैन । सो अवसरमा उहाँले किमाथाङ्का क्षेत्रमा नेपालतर्फ चिनियाँ पक्षलाई निमन्त्रण गरेर औपचारिक वा अनौपचारिक वार्ता-छलफल लागि पहल गरिने जानकारी दिनुभयो ।
प्रजिअ थपलियाका अनुसार किमाथाङ्का जाने क्रममा सो टोलीले स्थानीयवासीका गुनासालाई तत्काल सम्बोधन एवं जिल्लामा गर्नुपर्ने र कार्यसम्पादन सम्झौताअनुसार तोकिएका निकै महत्त्वपूर्ण काम पनि सम्पन्न गरेको थियो । उहाँले भन्नुभयो, ‘पहिरो, स्थानीय विकासका गतिविधि र निर्माण कम्पनीको विवादको कारण लामो समयदेखि अवरोध रहेको कोशी राजमार्गको अवस्था अवलोकन गरी समस्या समाधान खोज्नु पनि भ्रमण उद्देश्य थियो ।’ सोहीअनुसार राजमार्गमा रहेका अवरोध हटाउन उत्तर-दक्षिण कोशी आयोजना, सम्बद्ध निर्माण कम्पनी र स्थानीयबीच छलफल गरी बाटो सफा गर्ने र सडक निर्माणको सुरुआत भएको उहाँले बताउनुभयो ।
टोलीले जिल्लाकै दुर्गम भोटखोला गाँउपालिकाको हटियामा स्थानीय समस्याकाका विषयमा अन्तक्र्रियासमेत गरेको थियो । उहाँले स्थानीय समस्यालाई संवाद र समन्वयबाट समाधान गर्न सकिन्छ । अतः यस्ता अन्तर्क्रियाहरू प्रशासनिक कार्यसम्पादनमा निकै महत्त्वपूर्ण हुने बताउनुभयो । प्रजिअ थपलियाले प्रहरी चौकी निरीक्षण, शान्ति सुरक्षाको अवस्थाबारे जानकारी पनि लिनुभएको थियो । त्यसैगरी, भोटखोला र मकालु गाउँपालिका क्षेत्रहरू समेट्दै प्रहरी नायब उपरीक्षक मैनालीका नेतृत्वमा प्रहरीले लामो दूरीका गस्ती सञ्चालनसमेत गरेको थियो । गस्तिले लागुऔषध कारोबार, ओसारपसारलगायत विभिन्न अपराध नियन्त्रण हुने अपेक्षा लिइएको छ ।
प्रजिअ थपलियाले जिल्ला सञ्चालित जलविद्युत् आयोजनाहरू किमाथाङ्का हाइड्रो, अपर अरुण, अरुण तेस्रो र अन्य निजी तवरबाट सञ्चालित विभिन्न आयोजनाको स्थलगत अवलोकन गरी जग्गा मुआब्जालगायत आयोजनासँग सम्बन्धित नागरिक गुनासो सुनुवाइ र सम्बोधन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसले विशेषत जग्गा मुआब्जासम्बन्धी निर्णय गर्ने आधार तयार गरेको छ ।’
पैदल आफ्नो गाउँघर हुँदै आएकी प्रमुख जिल्ला अधिकारीसमक्ष आफ्ना कुरा राख्न गाउँवासी आतुर थिए । प्रजिअ थपलियाले भन्नुभयो, ‘स्थानीयवासीको कुरा प्रत्यक्ष ग्रहण गर्नुपाउनु मेरा लागि ठूलो अवसर हो । यस मौकालाई गुमाउन चाहिन र बाटोमा पर्ने सबैजसो गाउँ हेदाङनागढी, लिङ्गम, छुम्सुर र किमाथाङ्कामा स्थानीयसँग अन्तर्क्रिया गरेँ ।’ सो क्रममा स्थानीयले प्रजिअ समक्ष शान्ति सुरक्षा, सडक तथा विभिन्न आयोजना र अन्य स्थानीय सरोकारका विषय उठान गरी आफ्ना समस्या समेटी ज्ञापनपत्रसमेत बुझाएका थिए ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रजिअ थपलियाले भ्रमणका क्रममा भोटखोला गाउँपालिकाका अधिकांश र मकालुका मतदानस्थल निरीक्षण गर्नुभयो । उहाँका अनुसार ती मतदानस्थल मध्ये केही सामान्य र केही भौगोलिक अवस्था एवं दूरीका हिसाबले संवेदनशील छन् । प्रजिअ थपलियाले सम्बन्धित कार्यालयका प्रमुख र जिम्मेवार व्यक्तिहरूलाई साथमा लिई यसरी समग्र भोटखोला गाउँपालिकामा हिँडेर नै यात्रा गरी स्थानीयका गुनासा सुन्ने र समस्या बुझ्ने गरेकामा स्थानीय निकै खुसी भएका थिए ।
स्थानीयका अनुसार यसरी हिँडेर नै किमाथाङ्कासम्म यात्रा गर्ने प्रमुख जिल्ला अधिकारी थपलिया पहिलो हुन् । स्थानीयवासीले भनेका थिए, ‘अरु त सरर.. हेलिकप्टरमा आउँथे किमाथाङ्का हेर्थे, केके गर्थे जान्थे, तपाईँ हामीले देखेदेखि पहिलो सिडिओ हो यसरी भोटखोलाको सबै भूगोल र समाज बुझ्दै आउनुभएको ।’
प्रजिअ थपलिया भन्नुभयो, ‘प्रमुख जिल्ला अधिकारीको हैसियतले मेरो क्षेत्राधिकार सम्पूर्ण जिल्ला हो र आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न जिल्लाको सीमा, भूगोल, संस्कृति, संस्कारलगायत समग्र अवस्था बुझ्नु आवश्यक हुन्छ । त्यही बुझ्ने क्रममा चीनसँग सीमा जोडिएको क्षेत्र भएकाले किमाथाङ्कासम्म पुग्नु अनिवार्य नै थियो । पहिरोका कारण केही महिनादेखि सडक सम्बन्धविच्छेद भएको भोटखोला गाउँपालिकाको जनजीवनमा कस्तो असर पर्यो होला भनेर आफ्नै आँखाले देख्न र भोग्न मन आतुर थियो । त्यसैले मौसम खुल्नेबित्तिकै हिँडेका हाँै । अलि समय कुरेको भए पैदलयात्रा अलि कम दिनको हुनसक्थ्यो । तर यसरी जाँदा स्थानीय तवरबाट भोटखोला गाउँपालिकालाई बुझ्ने अवसर मिल्यो उहाँहरूको गुनासा सुनियो, आत्मीयता र अपन्त्व बढ्यो ।’
प्रकाशित समय १३:३७ बजे



















