नेपाल टेलिकमले ल्यायो एनटी फाइबर विद्यार्थी अफर
काठमाडौं । देशैभर इन्टरनेट सेवाको उपयोग र माग तीव्रगतिमा विस्तार हुँदैगएको परिप्रेक्ष्यमा विद्यार्थीवर्गमा समेत उच्च गुणस्तरीय तथा किफायती इन्टरनेट सेवाप्रति विशेष चासो र आकर्षण बढ्दै गएको छ । यसै सन्दर्भलाई मध्येनजर गरी नेपाल टेलिकमले वि.सं.२०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको छ ।
२०८२ कार्तिक २३ गते नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री खरेलले आर्थिकरुपले सक्षमता नभएका विद्यार्थीवर्गका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकम परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले फाइवर सेवाका ग्राहक वृद्धि गर्नका लागि बजारीकरणका उपायहरु अपनाउन अनुरोध गर्दै जनतालाई सुसूचित गर्न र सधैंभर सम्पर्क स्थापित गर्न टेलिकमले खेलेको भूमिका सराहनीय रहेको बताउँदै सुशासनको अनुभूति हुनेगरी कार्य गर्न निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेकोले नाफा भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सेवाका साथसाथै राजश्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
आजबाट २०८२ माघ २२ गतेसम्म उपलब्ध हुने यस अफर अन्तर्गत करसहित रु. ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ, जसमा साविक बमोजिमको जडान शुल्क रु. ५०० थप लाग्नेछ । अफरको साथमा विद्यार्थीले १ थान ड्युल ब्याण्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्न सक्नेछन् । अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमाण्ड पोर्टलमार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् ।
यस अफरअन्तर्गत उपलब्ध गराइएको एफटीटीएच प्याकेजको समयावधि समाप्त भएपश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने हुँदा सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजहरु मध्येबाट आफ्नो आवश्यकताबमोजिमको कुनै एक प्याकेज छनौट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन् । यस अफर अन्तर्गत एफटीटीएच सेवा खरिद गर्ने विद्यार्थीले प्याकेज भ्यालिडिटी समाप्त भए पश्चात् साविकका अन्य प्याकेजहरुमा नवीकरण गर्न नचाहेमा शुरुमा उपलब्ध गराइएको सीपीई भने फिर्ता गर्नुपर्नेछ ।
प्रकाशित समय २१:४८ बजे



















