1100×100 Nabil Advert

सयपत्री फुलले राम्रो मूल्य पाएपछि किसान खुसी

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ । यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका हुन् । पोखराको व्यापारीलाई रु तीन सयका दरले फूल बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई ठाउँमा गरी छ रोपनी क्षेत्रफलमा पहिलो वर्ष सयपत्री फूल लगाएका थियौँ । एक ठाउँबाट एक सय ६८ र अर्को ठाउँबाट तीन सय ६८ किलो फूल बिक्री भएको छ ।’

 

पहिलो वर्ष फूलखेती गरेका किसान बजार पाएपछि खुसी छन् । अझै पनि फूलको माग आइरहेको तर आफूहरूसँग फूल नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो वर्षमै उत्पादन भएका सबै फूल बिक्री हुँदा खुसी छौँ । बजार पाउँदैन कि भन्ने चिन्ता हट्यो ।’ फुटकर रूपमा फूलको माग आए पनि फूल दिन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । समूहका अध्यक्ष जितमाया रानाले बजार नपाएर श्रम खेर जाने हो कि भन्ने चिन्ताका बीच फूल लगाउन सुरु गरे पनि बजार पाएपछि आफूहरूमा हौँसला प्राप्त भएको बताउनुभयो । पहिलो वषमै बजारको सुनिश्चितता भएपछि आगामी वर्ष झनै क्षेत्रफल विस्तार गर्ने सोच बनाएको उहाँको भनाइ छ ।

 

फूल फुलेपछि कहाँ लैजाने भन्ने चिन्ता भए पनि बजारको समस्या नभएपछि अहिले मन पनि खुसीले फुलेको उहाँले बताउनुभयो । उहाँका अनुसार छ रोपनी जग्गा भाडामा लिएर छ हजारभन्दा बढी बेर्ना रोपिएको थियो । यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानीखेती गरिरहेका किसानले यस वर्ष भने सयपत्री फूलखेती गरेको उहाँको भनाइ छ ।

प्रकाशित समय १२:५८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु