NIMB Add_1100x110

सर्दु-सेरा खोलामा आएको बाढी सुँगुर फार्ममा पस्दा ८० लाख बराबरको क्षति

सुनसरी । गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु-सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका-८ स्थित झुम्का अर्गानिक कृषि फार्ममा क्षति पुगेको छ । बाढीका कारण फार्ममा रहेका २०० भन्दाबढी सुँगुर बगाउँदा करिब रु ८० लाखभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताउनुभयो ।

 

मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले विसं २०७४ मा फार्म सञ्चालन गर्नुभएको हो । करिब चार बिघामा फैलिएको फार्मममा १६ जनाले रोजगारी पाइरहेका छन् । उहाँका अनुसार फार्ममा ३०० भन्दा बढी सुँगुर थिए । शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दाबढी सुँगुर बगाएको उहाँको भनाइ छ । फार्ममा अहिले करिब ७० वटा सुँगुर बचेका छन् । बच्चा सुँगुरमध्ये ४० भन्दा बढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुरहरू बाढीले बगाएर लगेको उहाँले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘भारी वर्षापछि फार्ममा एक्कासी बाढी पस्यो, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हामफाल्न थाले, हामी फार्मको पारीपट्टी थियौँ, उनीहरुलाई बचाउन सकिएन, फार्मको ढोका र झाडीमा अल्झिएर बचेका केही सुँगुर मात्र अहिले बाँकी छन् ।’ उहाँले कुखुरा फार्म खोलाभन्दा केही पर भएकाले जोगिएको बताउनुभयो । उक्त फार्ममा करिब ३० हजार कुखुरा छन् ।

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु