म्याग्दीका पर्यटकीय स्थल मुख्ययाममै सुनसान
म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन-काठमाडौँ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताउनुभयो ।
‘चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ’, उहाँले भन्नुभयो, ‘होटल र पर्यटकीयस्थल सुनसान छ ।’ विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जानेआउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ-तातोपानी, दानाका होटल भरिभराउ हुन्थे । घटस्थापनाअघि सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थयात्रीको घुइँचो लाग्दथ्यो ।
सोह्रश्राद्धको समयमा पनि यसपालि कागबेनी र मुक्तिनाथमा तीर्थयात्राका लागि आउनेहरूको सङ्ख्या न्यून भएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी-पुनहिल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या पनि फाट्टफुट्टमात्र भएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो । ‘मेरो होटलमा बास बस्न आउने भनेका ३६ वटा विदेशी पर्यटकको समूहले देशको असहज अवस्थालाई कारण देखाएर बुकिङ रद्द गरेका छन्’, उहाँले भन्नुभयो, ‘विदेशी पर्यटक आगमन विगतको तुलनामा एकतिहाइ पनि छैन । स्वदेशी पनि आएका छैनन् ।’
घोडेपानीमा बास बसेका पर्यटक त्यहाँदेखि ३० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको अवलोकन गर्न जाने गर्छन् । असोज–कात्तिकको शरदयाममा यहाँ तीन सय जनाको हाराहारीमा विदेशी र त्यत्तिकै सङ्ख्यामा स्वदेशी पर्यटक आउने गर्दथे । म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीमा दैनिक एक हजार जना क्षमताको २५ वटा सुविधायुक्त होटल छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने चित्रे-घोडेपानी सडक स्तरोन्नतिका क्रममा रहेको हुँदा सवारीसाधनको असहजताका कारण आन्तरिक पर्यटकलाई समस्या भएको छ ।
बेनी नगरपालिका-४ मा रहेको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ तातोपानी कुण्ड पनि सुनसान छ । जमिनमुनिबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रूपमा परिचित छ । भुरुङ-तातोपानी बेनी-जोमसोम सडक भएर मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि थकाइ मेटाउने थलो हो । भुरुङ-तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले पर्यटक आगमन नहुँदा वैकल्पिक पेसाको खोजीमा लाग्नुपर्ने अवस्था आएको बताउनुभयो ।
‘दसैँअघि पर्यटक आगमन निराशाजनक छ’, उहाँले भन्नुभयो, ‘दसैँपछि पनि यस्तै अवस्था रहने हो भने व्यवसाय छाडेर ऋण तिर्नका लागि विकल्प खोज्नुपर्ने चिन्ताले पिरोलिएका छौँ ।’ भुरुङ-तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेशविन्दु पनि हो ।
प्रकाशित समय ०९:२८ बजे





















