NIMB Add_1100x110

व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो ।

 

युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठमा धेरै सार्वजनिक सम्पत्तिसंगै उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनी भएको उल्लेख गर्दै महासंघले आमसर्वसाधारण तथा उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सो सुनिश्चितता आवश्यक भएकोमा जोड दिएको हो ।

 

सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितता र दोषीमाथि कडा भन्दा कडा कारवाहीका लागि मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । उहाँले आन्दोलनका क्रममा भएको आक्रमण तथा तोडफोडले उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै करिब ८० अर्ब रुपैया बराबरको क्षति भएको जानकारी दिनुभयो ।

 

‘देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ सरकारसंग समन्वय एवं सहकार्य गर्न तयार छ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रको आवश्यकता र निर्वाध काम गर्न पाउने सुनिश्चितता आवश्यक छ’ अध्यक्ष ढकालले भन्नुभयो । उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हाले ठूलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको सदाशयता र सहयोगमा देखिएको तत्परता सकारात्मक भएको बताउनु भयो ।

 

उहाँले फरक परिस्थतीमा वर्तमान सरकार गठन भए पनि आम सर्वसाधारण र व्यवसायिक सुरक्षाको लागि सरकार गम्भीर रहेको बताउनु भयो । मन्त्री सिन्हाले मुलुकको उद्योग व्यवसायको पुनरोत्थान र सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनु भयो । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हरेक आन्दोलनका क्रममा निजी क्षेत्र माथी प्रहार हुने गरेकोले निजी क्षेत्रलाई हेर्ने दृष्किोण परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो । यस्तै उहाँले पुर्ननिर्माणमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग एवं प्रयोग गर्नुपर्ने बताउनु भयो ।

 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल सन २०२६ नोभेम्बरमा नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा अहिलेको परस्थितीमा स्तरोन्नतिको निर्णय रोक्न सरकरले संयुक्त राष्ट संघ समक्ष आग्रह गर्नु पर्ने सुझाव दिनुभयो । यस्तै उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आमरुपमा कानूनी राज्यको प्रत्याभूति दिनु अहिलेको प्राथमिकता रहेको बताउनुभयो । उहाँहरुले युवा (जेन जी) पुस्ताको आन्दोलन र चाहना बमोजिम भ्रष्टाचारमुक्त समाज निर्माण गरि सबै तहमा शुसासनको जग बसाल्नु आजको आवश्यक्ता भएको उल्लेख गर्दै आम नागरिकले वर्तमान सरकारबाट त्यो अपेक्षा गरेको धारणा राख्नुभयो ।

प्रकाशित समय १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु