व्यवसायिक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न नाडाको माग
काठमाडौं । हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दछौ । जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ। साथै, घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको लागि समेत हार्दिक प्रार्थना गर्दछौ।
नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो। तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन्। कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पु¥याएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ। शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो गहिरो विश्वास रहेको छ । साथै, सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गर्दछौ ।
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गर्दछ । हामी विश्वास गर्दछौं कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास समेत लिएका छौ । नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । अव छिटै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुनेछ भन्ने कुरामा शुभकामना समेत व्यक्त गर्दछौ ।
प्रकाशित समय २१:५४ बजे




















