छानी-छानी उद्योग-व्यवसायमाथिको आक्रमण आफ्नै खुट्टामा वञ्चरो
देशभित्र उदाउँदो अवस्थामा रहेका उद्योगधन्दा, कलकारखाना, व्यवसायीहरुलाई निशाना बनाएर हजारौं-हजार रोजगारी प्राप्त गरेका व्यक्तिहरुको गाँस खोसिएको छ । पटक-पटक राजनीतिक निशानामा परेका देशकै प्रतिष्ठित व्यापारी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकालको चन्द्रागिरी केवलकार लगायत विभिन्न ठाउँ, दशौं हजार नेपालीलाई प्रत्यक्ष र हजारौं-हजारलाई अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेका मीनबहादुर गुरुङका देशका विभिन्न ठाउँमा रहेका भाटभटेनी सुपरस्टोरहरुमा ठूलो लूटपाट गरिएको छ, क्षति पुर्याइएको छ । त्यसैगरी चौधरी ग्रुपपलगायत अन्य थुप्रै व्यवसायीहरुका उद्योगमा समेत लुटपाट र आगजनी भएको छ । यसरी छानी-छानी उद्योग-व्यवसायमाथि आक्रमण गरेर आफ्नै खुट्टामा वञ्चरो हार्ने काम गरिएको छ ।
१८ वर्ष पुग्दा-नपुग्दै पासपोर्ट बनाई लाखौं रुपैयाँ तिरेर विदेशका गल्लीहरुमा ५०-५५ डिग्रीको तापक्रममा निकै कष्टका साथ रोजगार गर्न बाध्य नेपालीहरुलाई क्रमशः विदेश जाने स्थिति कम गर्दै देशभित्रै रोजगारी बृद्धि गर्नुपर्छ भन्ने मान्यताका साथ लागेका यी उद्यमी-व्यवसायीलाई आक्रमण गरिएको छ । जेनजीका नाममा शुरु भएको आन्दोलनले दुई दिनमै नेपालका सबैजसो सरकारी संरचनाहरुसमेत खरानी बनाएको छ ।
सत्तामा जो आए पनि प्रशासनिक संरचनाहरु आवश्यक हुन्छन् भन्ने न्यूनतमसमेत चेतना भुलेर सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद् भवन, अन्य तहका अदालतहरु, वडादेखि गाउँपालिका र नगरपालिकाका कार्यालयहरु, प्रहरी प्रशासनका कार्यालयहरु सबै जलाइएको छ । प्रश्न निकै गम्भीर छ, संसारमा ठूला-ठूला युद्धहरु भइरहेका छन्, त्यहाँ आगजनीहरु हुँदा दमकलहरुले तुरुन्तै पानी हालेर त्यसलाई नियन्त्रणमा लिन्छन् । तर काठमाडौं महानगरले नेपालका ऐतिहासिक प्रशासनिक भवनहरु, दस्तावेजहरु दनदनी जलिरहँदा पाँच मिनेट पनि नलाग्ने ठाउँमा दुई दिनसम्म दमकल पठाएन, प्रश्न यहाँनेर गम्भीररुपमा उठेको छ ।
प्रकाशित समय १७:२६ बजे




















