1100×100 Nabil Advert

प्रेस स्वतन्त्रता कुण्ठित हुनेगरी मिडिया काउन्सिल विधेयक ल्याउनुहुँदैन : सांसद मल्ल

काठमाडौँ । राष्ट्रियसभामा सांसदहरूले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी मिडिया काउन्सिल विधेयक ल्याउन नहुने बताउनुभएको छ ।

 

सभाको आजको बैठकमा सांसद सावित्री मल्लले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्नेगरी ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुने गरी अघि बढाउनुपर्ने माग गर्नुभयो । उहाँले भ्रष्टाचार, बलात्कार, मानव बेचबिखनजस्ता अपराध गर्ने अपराधिलाई आममाफी दिने गरी मुलुकी अपराध संहिता संशोधन गर्न लागेकाले यो प्रक्रिया तत्काल रोक्नुपर्ने बताउनुभयो ।

 

सांसद मल्लले बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन गर्न लागिएको प्रक्रियता पनि तत्काल रोक्नुपर्ने माग गर्नुभयो । उहाँले निजामती कर्मचारी सेवा विधेयकमा ‘कुलिङ पिरियड’ हटाउन भएको छलछाम छानबिन गर्न गठित संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग पनि गर्नुभयो ।

 

सांसद विष्णुबहादुर विश्कर्माले देशैभरि जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “यही साउन २२ गते राति दैलेख जिल्लास्थित चामुण्डाविन्द्रसैनी नगरपालिका-८ का २२ वर्षीय गोविन्द शाही र २५ वर्षीय खगी भण्डारीले सोही निवासी १२ वर्षीया एक दलित बालिकालाई ढुङ्गाले हिर्काएर, लडाएर, सामूहिक बलात्कार गरेको घटना बाहिर आएको छ । यस्तो अपराध गर्ने अपराधीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।”

 

सांसद विश्वकर्माले साउन २५ गते डडेलधुरा जिल्लाको परशुराम नगरपालिका-८ का जननिर्वाचित वडाध्यक्ष दिनेशप्रसाद जोशीले सोही गाउँ निवासी लोकेन्द्र लोहारलाई बाटोमा हिँडिरहेको अवस्थामा कुटपिट गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । हाल पीडितले इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गर्न जाँदा सुनुवाइ नभएको उहाँको भनाइ छ । सांसद श्रीकृष्णप्रसाद अधिकारीले उखु किसानको भुक्तानी गर्न सरकारसँग माग गर्नुभयो । उहाँले चाडपर्व आउन लागेकाले बजारमा हुने गलत कार्य रोक्न र सडकमा सहज आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित समय २०:२५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु