नाडाका प्रतिनिधिद्वारा निर्देशिकाबारे यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ ।
उक्त छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माग सम्बन्धमा विद्युतीय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माग, सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा जीपीएस अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो ।
छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनुपर्ने धारणा राख्नुभयो । चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफल गरी सुझाव पठाउने बताउनुहुँदै विभागले छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गर्नु भयो ।
सो बैठकमा उपस्थित हुनुभएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता रहेको बताउनु भयो । छलफलको अन्त्यमा विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात, उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउनु हुँदै यसका लागि विभिन्न चरणमा छलफल गरिने बताउनु भयो । सोही छलफलको क्रममा उहाँले सरकारले व्यवसायीहरुका लागि विभिन्न व्यवधानहरु सिर्जना गर्ने गरेको आम बुझाई रहेको भए पनि अब सरकार व्यवसायीहरुको परिपुरकको रुपमा उभिने बताउनु हुँदै देशको आर्थिक विकासमा नीजिक्षेत्रको ठूलो भूमिका हुने बताउनु भयो ।
विभागसँग मिलेर नाडाले सवारी साधनहरुका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिंदै महानिर्देशक पोखरेलले मुख्यतः ३ वटा विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्न सकिने बताउनुहुँदै सही समयमा सही छलफल भएको धारणा राख्नुभयो । उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात हुने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
प्रकाशित समय १८:०५ बजे




















