कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई २८ लाख अनुदान प्रदान
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब रू २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रू २७ लाख ९२ हजार २९६ अनुदानस्वरुप उपलब्ध गराइएको जानकारी दिएको छ । नगरपालिकाले दुग्ध उत्पादक किसानलाई पाँच वटा सहकारीमा सङ्कलन भएको १३ लाख ९६ हजार १४८ लिटर दूधमा प्रतिलिटर रू दुईका दरले अनुदान उपलब्ध गराइएको हो ।
नगरपालिकाका अनसार साना किसान कृषि सहकारी संस्था कावासोती-१४ मार्फत छ लाख ३५ हजार २७५ लिटर, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती-८ मार्फत तीन लाख १९ हजार ६४ लिटर, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती-१७ मार्फत तीन लाख १६ हजार ९९२ लिटर, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती-२ मार्फत ५७ हजार ५८३ लिटर र नमुना दुग्ध उत्पादक सहकारी कावासोती-१७ मार्फत ६७ हजार २३३ लिटर दूध सङ्कलन भएको र सोही आधारमा अनुदान उपलब्ध गराइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो ।
नगर प्रमुख विष्णुप्रसाद भुसालले अनुदानले किसानलाई प्रोत्साहन गर्ने विश्वास लिइएको बताउनुभयो । ‘किसानलाई केही राहत होस् भन्ने उद्देश्यले अनुदान उपलब्ध गराइएको हो’, उहाँले भन्नुभयो ।
प्रकाशित समय १४:०८ बजे




















