अन्धकूपपछि बैंकर झम्क तिमल्सिनाको ‘विमुक्ति’
काठमाडौं । एक जना बैंकर सफल साहित्यकार पनि बन्न सक्छ भन्ने उदाहरण दिन सफल भएका छन् झम्क तिमिल्सिना । कृषि विकास बैंकमा कार्यरत तिमिल्सिनाले ‘अन्धकुप’ उपन्यासपश्चात यो दोस्रो उपन्यास ‘विमुक्ति’ सार्वजनिक गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्राज्ञ तथा कथाकार माया ठकुरी, साहित्यकार भुवनहरि सिग्देल, समालोचकद्वय डा. अशोक थापा र महेश पौड्यालले उक्त कृतिको सामूहिक लोकार्पण गरेका हुन् ।
उक्त अवसरमा प्राज्ञ ठकुरीले कृतिले सामाजिक अन्तरवस्तु समेटेको बताइन् । कृतिका विषयमा समालोचक थापाले एउटा सम्भ्रान्त वर्गको छुटेको परिवारको कथा समेटिएको बताए । अर्का समालोचक पौड्यालले विमुक्तिमा सामाजिक र दार्शनिक पक्ष समेटिएको चर्चा गरे । कृति उच्च सम्भ्रान्त वर्गको कथा भए पनि त्यहाँभित्रको अदृश्य पाटो उत्खनन् गरिएको उनको भनाइ थियो । समाजमा प्रौढ व्यक्तिका दुःख र कथा कम लेखिएको समयमा विमुक्तिले त्यो अभाव पूर्ति गर्ने प्रयास गरेको पौड्यालले बताए ।
उपन्यासमा विरह-गीतको पहिलो गुञ्जन, नाता र कर्तव्य, कथा र पात्रता, ब्रह्मनाल र सत्य, जन्म र प्रारब्ध, नेपाल प्रस्थान, भोटेताल्चा र अधोगत माया, ढोडको जीवनचक्र र मेरो नियति, त्यतिबेलाको समय, पे्रम र विवाह, समयको गर्त र वर्तमान, श्रेष्ठता, मनको पाप, उल्टो इच्छा, स्वर्गको आशक्ति, मन राख्ने दिनहरु, बैला जीवनको मनोवाद, दूरीभन्दा टाढिएका मनहरु, अत्याज्य मोह, समयको शब्दार्थ, अपूर्णताको मखमली कथा, उस्तै कथाहरु, विधि र प्रक्रियाहरु, दशैं एउटा भाका, भ्रम, धुम्मिएको आकाश र अजीव सपनाहरु, भुइँसम्मको यात्रालगायतका शीर्षकहरु राखेर उपन्यासलाई पूर्णता दिनुभएको छ ।
प्रकाशित समय ०८:३० बजे




















