ऐन कानूनको पूर्ण पालना नहुँदा सहकारी क्षेत्रमा समस्या
काठमाडौं । सहकारी क्षेत्रको पुनरुत्थान गर्न ऐन कानूनको पालना गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अर्थबजारले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले ऐन कानूनको पूर्ण पालना नहुँदा सहकारी क्षेत्रमा समस्या देखिएको बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीहरूले ऐन कानूनको अक्षरसः पालना गर्नु पर्नेमा जोड दिइन् । ‘कतिपयमा सहकारीको सात वटा सिद्धान्त र १० वटा मूल्य मान्यता माने पछि नेपालको कुनै कानून नै मान्नु पर्दैन जसरी प्रस्तुत हुने समस्या छ,’ मल्लले भनिन्, ‘सहकारी महासंघको कार्यालय जेनेभामा हुँदा स्वीजरल्याण्डको कानून पालना गर्दथ्यो । अहिले ब्रसेल्समा छ, बेल्जियमको कानून पालना गरिरहेको छ ।
यसैगरि बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्र ढकालले कानून बनाउने तर पालना नगर्ने परिपार्टीले समस्या निम्तिएको बताए । ‘सहकारी ऐन ल्याउन, त्यसलाई समयानुसार संशोधन गर्न पहल ग¥यौं । ऐन आएपछि कार्यान्वयनको सट्टा अमूक ठाउँहरूबाट खण्डनहरू आए,’ ढकालले भने ‘आफूले सहकारीको मर्म नुबुझ्ने, तर अरूलाई आर्दश पढाउने र सुनाउने मात्रै गरेर सहकारी आन्दोलन कहाँ पुग्छ ?’ सहकारीसँग सम्बन्धित ऐन कानूनको अक्षरसः पालना गर्न आफूहरू तयार रहेको ढकालले दाबी गरे । सरकारले पनि सहकारी ऐनले व्यवस्था गरेको बमोजिमको काम गर्न बाँकी रहेको उनले बताए । दोस्रो तहको नियमक निकायसहित कतिपय संरचनाहरू बन्न बाँकी रहेको उनले बताए ।
‘ऐनका साथै राष्ट्र बैंकबाट जारी भएका निर्देशनहरूको पूर्ण पालना हुनु पर्दछ । साथै सरकारले पनि कानूनले प्रबन्ध गरेका संरचनाहरू चाँडो निर्माण गर्नु पर्छ,’ ढकालले भने । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कानूनको पालनामै जोड दिए । ‘सहकारी बैंकको स्थापना २०१९ सालमै भएको रहेछ । तर त्यसबेला नियमन, सुपरिवेक्षणको ठोस व्यवस्था नै नभएका कारण चल्न सकेन,’ पौडेलले भने, ‘पछि २०२४ सालमा कृषी विकास बैंकको स्थापनासँग सहकारी बैंकलाई सक्रिय बनाएको थियो । यसले प्रभावकारी नियमन र सुपरिवेक्षण बिना वित्तीय कारोबार गर्ने सँस्थाहरू चल्न नसक्ने रहेछ भन्ने देखाउँछ ।
यसैगरि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलले कानून कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए । ‘३० हजारभन्दा धेरै सहकारीमध्ये केहीमा समस्या देखियो । सरकारले कानून कडाईका साथी लागू गरिरहेको छ,’ पोखरेलले भने, ‘अहिले ८ सयभन्दा धेरै आरोपी थुनामा छन् भने २६ सयभन्दा बढी फरार छन् ।’
प्रकाशित समय १९:३० बजे




















