1100×100 Nabil Advert

टोखाले मुटु रोग उपचारका लागि नगरवासीलाई ५० हजार

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले मुटु रोग उपचारका लागि नगरवासीलाई उपचारका लागि रु ५० हजारसम्म उपलब्ध गराउने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०८१/८२ को हिउँदे नगरसभाबाट संशोधन गरेर रु १० लाख बजेटबाट नगरवासीलाई मुटु रोग उपचारमा रु ५० हजारसम्म सहयोग गर्न लागेको हो ।

 

 

टोखाले नगरवासीलाई मुटु रोग उपचारका लागि आइतबार सहिद गङ्गालाल हृदयरोग केन्द्रसँग सम्झौतासमेत गरेको छ । सम्झौतापत्रमा टोखा नगरपालिकाका तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्राडा रवि मल्लले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मुटु रोग उपचारका लागि नगरवासीलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो । “टोखाले वडाको सिफारिसका आधारमा प्रतिव्यक्ति रु २५ हजार र गरिब तथा विपन्न वर्गका लागि रु ५० हजारसम्म सहयोग गर्नेगरी सम्झौता गरेको छ, यसले टोखाका बासिन्दालाई थोरै भए पनि मुटुरोगको उपचारमा सहयोग पुग्नेछ”, नगरप्रमुख अधिकारीले भन्नुभयो ।

 

 

उक्त सेवा लिनका लागि नगरवासीले स्थायी बसोबास गरेको देखिने नागरिकताको प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, अतिविपन्न नागरिक भएको वडा कार्यालयको सिफारिसपत्र आवश्यक पर्नेछ । यस्तै, नगरभित्र स्थायी बसोबास गर्ने जोसुकैले पनि मुटुको उपचार गर्दा रु २५ हजार सहयोग पाउनेछन् । बिरामीको उपचार गरेपश्चात् सम्झौताअनुसारको रकम लिनका लागि अस्पतालले नगरपालिकामा आवश्यक कागजात पेस गरेर मात्र लिन सक्ने व्यवस्था सम्झौतापत्रमा उल्लेख गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मल्लले नगरपालिकाको सम्झौताअनुसार अस्पतालले सेवा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा टोखाका उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीलगायत टोखाभिका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित समय १७:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु