1100×100 Nabil Advert

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्वस्वास्थ्य सङ्गठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो ।

 

विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै प्रकारका सेवा डिजिटल प्रविधिका माध्यममा स्पष्ट देखिने भएको छ । विश्वस्वास्थ्य सङ्गठन नेपालका डा एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

 

विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुुरु गर्दै विश्वस्वास्थ्य सङ्गठन नेपालका डा गोकोटनाले यो सेवाबाट नागरिकलाई धेरै सहजता पु¥याउने भन्दै जिल्लावासीले यसको अधिकतम प्रयोग गरेर सेवा लिन आग्रह गर्नुभयो । यस अभिलेख प्रणालीबाट बिलिङ, टिकटिङ, डाक्टरको उपलब्धता, औषधिलगायत विवरण अभिलेख प्रणालीमार्फत जानकारी पाउन सकिने अस्पतालका निमित्त कार्यालय प्रमुख वैभव बस्यालले जानकारी दिनुभयो । यसबाट बिरामीलाई विगतदेखि वर्तमानसम्मका विवरण सहजै रुपमा उपलब्ध हुने बताइएको छ ।

 

विद्युतीय चिकित्सा अभिलेख प्रणालीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले यो सेवा सञ्चालन भएसँगै बिरामीलाई कागजी प्रक्रियाको झन्झट नहुने बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालय मातहतमा रहेका सबै सवारी साधनमा जिपिएस जडान गर्ने, शुल्कसहितको नागरिक बडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको नाम देखिनेगरी राख्नेलगायत काम सुुरु गरेको बताउनुभयो ।

 

विश्वस्वास्थ्य सङ्गठन नेपालका अधिकृत सुदन ज्ञवालीले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमार्फत बिरामीको समय, खर्चको बचत हुनुका साथै परीक्षणमा हुने दोहोरोपनको अन्त्यका अतिरिक्त स्वास्थ्यसम्बन्धी नीतिनिर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुने बताउनुभयो । यसबाट सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुने उहाँको भनाइ छ । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा पहिलो हो । पचास श्यया रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्यूठान, बागलुङलगायत जिल्लाका नागरिकले सेवा लिँदै आइरहेका छन् ।

प्रकाशित समय १३:४७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु