एभरेष्ट बैंकले सञ्चालनमा ल्यायो बझाङको धलौनमा नयाँ शाखा
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिका-१ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिकरुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय संघ-संस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिति रहेको थियो । आजै माघ २८ गतेका दिन औपचारिकरुपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँचबाट टाढा रहेको साइपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा ‘क’ वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।
भौगोलिक तथा पूर्वाधार विकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७/८ घण्टा को पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोली सञ्चालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नु हुने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालिकाप्रती विशेष धन्यवाद व्यक्त गर्दै देशको सम्पूर्ण पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा सञ्चालन गर्न सकेकोमा बैंक खुसी व्यक्त गरेको छ ।
उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताउनु भयो । साथै अब सानोतिनो बैकिङ सेवाको लागि पनि सदरमुकाम धाउनुपर्ने साइपालबासीको बाध्यताको अन्त्य भएको बताउनुहुँदै अन्य सुविधाहरु पनि बिस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलापसमेत चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।
देशकै अग्रणी बैंकको रुपमा स्थापित एभरेष्ट बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरी १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिंदै आइरहेको छ । एभरेष्ट बैंकले भारतको नया दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय २२:०५ बजे






















