नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमती
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरुबीच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमती भएको छ ।
उक्त सहमती अनुसार आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम र रोजगारीका लागि अवसरहरु सृजना गरी आवश्यक सुधार समेत गर्ने, दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने, यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमता बीचको खाडल पूरा गर्न, लेवल एकबाट तालिमको शुरुआत गर्ने र क्रमशः लेवेल दुईमा जाने, आवश्यकताअनुसार पाठ्यक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने, तालिम र पाठयक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसँग सहमतीगरी (एमओयु) अघि बढ्ने लगायतका छन् ।
उक्त छलफलमा नाडाका तर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थिति थियो । दुई निकायहरु बीच भएको यस्तो ऐतिहासिक पारस्परिक सहमतीले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरुको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा समेत राखिएको छ ।
प्रकाशित समय १९:५७ बजे





















